News Portal

  • युक्रेनी यात्रुवाहक विमान इरानले खसालेको पुष्टि, इरानी सेनाले माफी माग्यो

    २७४ पटक

    काठमाडौं । १७६ जना यात्रुको ज्यान जाने गरि इरानले नै युक्रेनी जहाज खसालेको पुष्टि भएको छ ।

    इरानी सेनाले गल्तीवस विमानमा क्षेप्यास्त्र आक्रमण गरिएको कारण विमान खसेको भन्दै माफी मागेको छ ।

    राष्ट्रपति हसन रुहानीले पनि एक ट्वीट गर्दै सेनाको आन्तरिक छानबीनबाट पनि मानवीय त्रुटीका कारण गल्तीवश विमानमा मिसाइल प्रहार भएको र भयावह दुर्घटना भएको स्वीकारेका छन् ।

    यो दूर्घटना माफीयोग्य नभएको भन्दै उनले निकै ठूलो वियोगको रुपमा अर्थ्याएका छन् । मिसाइल हानेर खसालिएको विमान अमेरिकी कम्पनी बोइङले बनाएको ७३७ सिरिजको थियो । युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको यो विमानले उडान भर्नासाथ बुधबार बिहान इरानको राजधानी तेहरानको बाहिरी भागमा मिसाइल लागेर खसेको थियो ।

    युरोपेली र अमेरिकी मुलुकको खुफिया एजेन्सीले मिसाइल हानेर विमान खसालेको भने पनि इरानले यसलाई स्वीकारेको थिएन । सोही बिहान इरानले आफ्ना सैन्य जनरल कासिम सुलेमानीको हत्या बदलामा इराकस्थित अमेरिकी सेनाका बेस क्याम्पहरुमा मिसाइल हानेको थियो ।

    निकै तनावपूर्ण स्थितिका बीच युक्रेनी जहाज अस्त्रयुद्धको शिकार भएको बताइएको छ । युक्रेनको राजधानी किभतर्फ उडान भर्दै गरेको यो जहाजमा उडान दलका ९ सदस्य र १६७ यात्री सवार थिए ।

    इरानका ८२, क्यानडाका १२ र युक्रेनका ११ नागरिक पनि विमानमा भएको मिसाइल आक्रमणको शिकार भएका छन् । आकाशमा उडिरहेको विमानले संवेदनशील सैन्य क्षेत्रतर्फ अप्रत्याशित रुपमा उडान मोडेको इरानी सेनाले दाबी गरेको छ ।

    सेनाको बयानमा भनिएको छ,‘यो विमान रिभोल्युस्नरी गार्डको सैन्य क्षेत्रको निकै नजिक आएको थियो, मानवीय भूल भयो र विमानमाथि मिसाइल आक्रमण भयो । यसमा जसले गल्ती गरेको छ, उ माथि कारबाही हुन्छ, सबै सैनिक फोर्सहरुको कारबाहीमा व्यापक सुधार गरिनेछ, ताकि फेरि यस्तो गल्ती नहोस् ।’

    प्रतिकृया दिनुहोस्