News Portal

  • सुनपाल सामुदायीक वनका पदाधिकारीलाई जनकारवाही गर्ने जनपरिषदको चेतावनी

    २८७ पटक

    धनगढी । जथाभावी वन फडानी गरेर तस्करी गरेको भन्दै जनपरिषदले जनकारवाहीको चेतावनी दिएको छ । थारुवान स्वायत्त प्रदेश अन्तरगत गौरीगंगा नगर जनपरिषदले वडा नं. ७ मा पर्ने सुनपाल सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशीको मिलेमतोमा वन फडानी भइरहेको भन्दै सो चेतावनी दिएको हो ।

    सुनपानी सामुदायीक वनका अध्यक्ष जोशी, भ्रष्ट कर्मचारी, काठ तस्करको मिलेमतोमा अवैध रुपमा वन फडानी गरी तस्करी भइरहेको जनपरिषदले विज्ञप्तिले निकालेर जनाएको छ । गौरीगंगा नगर जनपरिषद प्रमुख रितिकले सुनपाल वनको काठ तस्करीमा संलग्न वनका पदाधिकारीसहित अन्य संरक्षक र मतियारहरुलाई सरकारलाई कारवाही गर्न भनेका छन् । उनले सरकारले कारवाही नगरे आफूहरु शसक्त जनकारवाही गर्ने चेतावनी पनि रितिकले दिएका छन् ।

    प्रमुख रितिकले चुरे र तराइको वन कटानी गरी मैदानी भू–भागलाई गम्भीर असर पार्ने र मरुभुमिमा परिणत गराउने कर्मचारी र नीतिलाई आफूहरुले खारेज गर्दै आएको बताएका छन् । “कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ७ मा पर्ने सुनपाल सामुदायिक वनका केही पदाधिकारीहरु मुख्यतः वनको अध्यक्ष डिल्लीराज जोशी काठ व्यवसायहरु दलाल राज्यका केही लुटेरा, भ्रष्टाचारी, तस्कर विभिन्न खाले माफिया र वन कर्मचारी लगायत गिरोहको मिलेमतोमा व्यापक रुपमा वन फडानी गरी अवैध रुपमा काठ तस्करी गरिएको समाचारप्रति हाम्रो गौरीगंगा नगर जनपरिषदको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । चुरे र तराइको वन कटानी गरी मैदानी भुभागलाई गम्भीर असर पार्ने र मरुभुमिमा परिणत गराउने राज्य तथा वन कर्मचारीको कुनै पनि नीतिलाई हाम्रो जनपरिषदले खारेज गर्दै आएको जगजाहेरै छ” विज्ञप्तिमा भनिएको छ ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको परिषदले भनेको छ, “सुनपाल सामुदायिक वनको काठ तस्करीमा संलग्न वनका पदाधिकारीसहित अन्य संरक्षक र मतियारहरुलाई कारवाहीको दायरामा ल्याइयोस अन्यथा गौरीगंगा नगर जनपरिषदले आफ्नो प्रशासनिक संयन्त्रको प्रयोग गरी दोसीउपर सक्त जनकारवाही गर्न बाध्य हुनेछ । जुन वन माफियाहरुकोलागि निकैनै महंगो सावित हुनेछ ।”

    प्रतिकृया दिनुहोस्