News Portal

  • प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौँडा राख्ने नेकपा संसदीय दलको निर्णय

    २७९ पटक

    मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश ३ को संसदीय दलको बैठकले प्रदेशको राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

    प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा अन्य ५ जिल्लाको नाम पनि समावेश गर्नुपर्ने भन्दै सांसदहरुबीच विवाद भए पनि शुक्रबार बसेको दलको बैठकले अब हेटौँडाको मात्रै नाम प्रस्ताव गर्ने निर्णय गरेको हो ।

    राजधानीकै विषयलाई लिएर ५ दिनसम्म सत्तारुढ दलकै सांसदहरु विभाजित हुँदा संसद बैठकमा प्रस्ताव पेश गर्न सकिएको थिएन । शुक्रबार दिउँसो ३ बजेका लागि तय भएको संसद बैठकमा प्रदेशको राजधानी हेटौँडा राख्ने पक्षमा मात्रै प्रस्ताव दर्ता गर्न लागिएको छ ।

    प्रदेशको नाम वाग्मती राख्ने विषय भने सर्वसम्मतले बैठकले निर्णय गरेर प्रस्ताव दर्ता गर्न लागिएको छ । केही सांसदहरुले भने प्रदेश राजधानीमा अरु जिल्लाको पनि नाम दर्ता गराउन भनेका छन् । प्रदेश ३ को सत्तारुढ दल नेकपा संसदीय दलको बैठकले राजधानी र नामाकरणका विषयमा निर्णय गरेसँगै अब संसदमा राजधानी र नामाकरणको प्रकृया अघि बढ्न सहज हुनेछ ।

    नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएको थियो । सचिवालयको निर्देशनपछि मुख्यमन्त्री डोरमणि पौडेलको सक्रियतामा शुक्रबार प्रदेश ३ को संसदीय दलको बैठक ५ पटक बसेको हो ।

    पार्टी निर्देशन अनुसार राजधानी र नाममा सहमति जुटाउन संसदीय दलको बैठकमा लगातार छलफल चलेको थियो ।

    प्रतिकृया दिनुहोस्