
काठमाडौं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फां)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ ।
एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५-५ खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाएको छ ।
मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही १० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ ।
मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार जरिवाना गरिएको छ । यसै गरी आ-आफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ ।
डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २-२ गोलको बराबरी खेलेका थिए । खेल सकिए लगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए ।
खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकालिएको थियो ।
