News Portal

  • इराकमा रहेका नेपाली भन्छन्– अमेरिकाविरुद्ध जनता सडकमा छन्, अमेरिकी सेना इराकबाट लखेट्‍ने अभियान

    ५५३ पटक

    काठमाडौँ । इरानले आफ्ना सैनिक कमाण्डरको हत्याको बदला लिन इराकस्थित अमेरिकी सेनाका आधार शिविरहरुमा क्षेप्यास्त्र हमला गर्यो । त्यो पनि एकैसाथ २१ वटा मिसाइल । इरानले यसरी अमेरिकाविरुद्ध हमला गर्ने आट गर्ला भन्ने विश्वको अन्य देशहरुले कल्पना पनि गरेका थिएनन् । स्वयम अमेरिकाको लागि पनि यो नयाँ चुनौती हो ।

    क्षेप्यास्त्र हमलामा परी अमेरिकी सेनाका ८० जनाको मृत्यु भएको इरानले बताइरहेको छ । यद्यपी अमेरिकाले त्यसको खण्डन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गर्नुअघि युद्धको घोषणा गर्न सक्ने अटकलबाली गरिएका थिए । त्यो अवस्थामा इराक फेरि युद्धभूमीमा परिणत हुन्छ भन्ने चिन्ता र चासो बढेको थियो ।

    इराकमा रहेका नेपालीहरुको भविश्यबारे चिन्ता गरिएको थियो । यो चिन्ताबीच इराकमा रहेका एक नेपाली संचारमाध्यमको सम्पर्कमा आएका थिए । राजधानी बगदादको एक होटलमा कार्यरत गोर्खाका जितमान गुरुङले त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए । उनले राति बम प्रहार भएको हल्ला चलेको र आवाज आएको बताए । उनले अमेरिकी सैन्य शिविरमा हमला भएको तर कुनैपनि अमेरिकी सैनिक बाहिर ननिस्किएको बताए ।

    नौ वर्ष पहिलेदेखि त्यहाँ कार्यरत गुरुङले राजधानी बग्दादमा इराकी नागरिकहरु अमेरिकाविरुद्ध नाराबाजी गरिरहेको बताए । अमेरिकाले आफ्ना सेना थपिरहेको समेत बताए ।

    इराकी जनताहरू ‘अमेरिकीहरूलाई लखेट्नु पर्छ’ भन्दै सडकमा नाराबाजी गरिरहेको गुरुङले भने । इराकबाट अमेरिकी सेना धपाउने अभियान सुरु भएको बताइन्छ । इराकी युवाहरुले अमेरिकाको झण्डामा आगो लगाउनुको साथै चर्को नाराबाजी गरिरहेका छन् । अमेरिकाकै कारण इराक अहिलेको हालतमा पुगेको र फेरि युद्धस्थल बनाउने खतरा रहेको भन्दै इराकी जनता त्यसको एकजुट भएर विरोध गरिरहेका छन् । समृद्धीको दिशामा अगाडि बढेको इराकमाथि अमेरिकाले हमला गरी सद्दाम हुसेनको शासनको अन्त्य गरेको थियो । त्यसपछि इराक युद्ध भूमी र कंगालमा परिणत भयो ।

    सद्दाम हुसेनमाथि अमेरिकाले आक्रमण गर्दा केही व्यक्तिहरुले साथ दिएका थिए । उनीहरुले इराक यो हालतमा हुन्छ भन्ने कल्पना गरेका थिएनन् तर अहिले त्यो हुन नदिन सबै इराकीहरु एकजुट भएका छन् ।

    इराकीका कुरा सुन्दा अलि बढी नै खतरा हुने संकेत रहेको गुरुङले बताए । सम्भावित युद्धको खतरा भएकोले होटलमा आउनेहरु घटेको बताए ।

    गुरुङ अमेरिकी सैन्य शिविरहरुमा पनि नेपाली रहेको बताए । उनीहरुलाई बाहिर फोन गर्न नदिइएको र निकै डराइरहेको बताए ।

    इरानले सैन्य कमाण्डर कासिम सुलेमानीको बदला लिन थप हमला गरिने चेतावनी दिएको छ । यसले इराकमा युद्धको त्रास जारी छ ।

    प्रतिकृया दिनुहोस्