News Portal

  • दलित भन्ने थाहा पाएपछि बुहारीको हत्या, ३ जना जेल चलान

    ४७५ पटक

    काठमाडौं । १९ वर्षिय संगीता विश्वकर्मा र गोविन्द कार्कीबीच टेलिफोनमा संवादकै क्रममा प्रेम सम्बन्ध भएर विवाह चएको थियो ।

    गोविन्दले संगीताको थर सोध्दा उनले ‘मगर’ भनेकी थिइन् । उनीहरुले भागेर विवाह गरेका थिए र उनीहरूलाई बाबु आमाले भित्र्याएका पनि थिए ।
    तर केही समय घरमै रहँदा संगीता विश्वकर्मा भएको थाहा भएपछि परिवारले गोविन्दलाई फकाइफुल्याइ गरे र उनी पनि परिवारको कुरामा राजी भएपछि बाबु र दुई छोरा भएर संगीतालाई मार्ने योजना बनाए ।

    २०७४ साल कात्र्तिक १४ गते संगीताको शव सिम्लेको एक जंगलमा फेला पर्यो । बिहे गरेको १५ दिनमै उनको शव फेला परेको थियो । झुण्ड्याएर हत्या गरी मान्छे नचिनियोस् भनेर उनीहरूले संगीताको अनुहारमा एसिड पनि छ्यापिदिएका थिए ।

    शव फेला पर्ने बित्तिकै माइती पक्षले तीनै जनाविरूद्ध किटानी जाहेरी प्रहरीमा दिए । संगीता उदयपुरगढी ५ बाहुनीटारकी हुन् । उनलाई परिवारले ‘उपल्लो जात’को केटासँग बिहे नगर भनेका पनि रहे छन् ।

    तर, संगीताले ‘प्रेम सम्बन्ध हो, केही फरक पर्दैन’ भन्ने गरेकी थिइन् । किटानी जाहेरीपछि प्रहरीले लामो समय अनुसन्धान गर्यो । तर, प्रतिवादी पक्राउ परेका थिएनन् ।

    उदयपुरका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीका अनुसार उनीहरू सबै भागेका थिए । भाग्नेबित्तिकै शंका उनीहरूतिरै बढी केन्द्रित भएको थियो । केही समय श्रीमान, ससुरा र देवर दार्जिलिङ गएका थिए । गत मंसिर २२ गते मनबहादुर (देवर) घरमा रहेको थाहा पाएपछि प्रहरी टोली गएको थियो ।

    उनलाई घरबाटै पक्राउ गरेपछि नैनबहादुर (ससुरा) र गोविन्द काठमाडौंमा रहेको पत्ता लाग्यो । दुवैलाई प्रहरीले काठमाडौंको कपनबाट २३ मंसिरमा नियन्त्रणमा लियो । तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेपछि उनीहरूले घटना कबुल गरेका छन् ।

    प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गर्यो । आइतबार तीनै जनाविरूद्ध मुद्दा दर्ता भएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठायो । उदयपुर कटारी नगरपालिका ४ सिम्लेका मनबहादुर कार्की, नैनबहादुर कार्की र गोविन्द कार्कीलाई अदालतले सोमबार कारागार चलानको आदेश दिएको छ ।

    अदालतले तत्काल प्राप्त प्रमाणले उनीहरूलाई निर्दोष मान्न सकिने आधार नदेखिएकाले पुर्पक्षका लागि कारागार चलाउन आदेश गरेको स्रेस्तेदार राजकुमार आचार्यले बताए ।

    इलाका प्रहरी कार्यालय कटारीले संगीता विश्वकर्माको हत्यामा संलग्न भएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । आइतबार तीनै जनाविरूद्ध वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

    प्रतिकृया दिनुहोस्