News Portal

  • दाङका प्रहरी प्रमुख जनक भट्टराईविरुद्ध अवहेलना मुद्दा हाल्नुको कारण यस्तो रहेछ

    २११ पटक

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईविरुद्ध अवहेलनाको मुद्दा परेको छ । अदालतको अवहेलना गरेको भन्दै भट्टराईविरूद्ध दाङ देउखुरी जिल्ला अदालतमा अदातलको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको हो ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई अदालतभित्रै पसेर गिरफ्तार गर्न निर्देशन दिएको, दुव्र्यवहार गरेर अदालतको अवहेलना गरेको मुद्दामा उल्लेख छ । धनबहादुर बोहरा,तिलक पुन, कुलबहादुर ओली र एकराज चौधरीलाई अदालतले जनही १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले अदालतभित्रै पसेर पुनः गिरफ्तार गरेको थियो ।

    घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी शिबा बोहरा, घोराही १७ निवासी छिमा पुन, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी सीता ओली र लमही नगरपालिका वडा नं. ३ निवासी उमिरलाल चौधरीले प्रहरी प्रमुख भट्टराईविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् । निवेदकले भट्टराईलाई एक वर्ष जेल सजायसहित दशहजार जरिवानाको माग गरेको अधिवक्ता निर्मल गौतमले जानकारी दिए ।

    अदालत परीसरवाटै प्रहरीले विधि, नियमको धज्जी उडाएको भन्दै जिल्ला बार एशोसियसन दाङले घटनाको छानविन गर्न माग गरेको थियो । बारका जिल्ला सचिव किरण कुमार रेग्मीले प्रेस विज्ञप्ती जारी गरेर धरौटीमा अदालतले छोड्न आदेश दिएपछि धरौटी बुझाउने क्रममा अमानविय र विधिको शासनको धज्जी उडाएको भन्दै कडा शब्दमा निन्दा गरेको छ ।

    प्रहरीले असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकाबाट गिरफ्तार गरिएका २१ मध्ये चारजनालाई अदालतले रिहा गर्न आदेश दिएको थियो ।

    प्रतिकृया दिनुहोस्