News Portal

  • कमजोर भएर होइन, पार्टीको नीति नभएर फौजी कारवाही नगरेका हौंः पुन

    ११९९ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली इन्चार्ज ओपप्रकाश पुनले सुरक्षाकर्मी वा अन्य कसैमाथि पनि फौजी आक्रमण गर्ने पार्टीको नीति नभएको बताएका छन् । उनले आफूहरु कमजोर भएर नभई पार्टीको नीति नभएकोले फौजी कारवाही प्राथमिकतामा नरहेको बताए ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका पुनले ब्यूरो पार्टीले स्थानीय स्तरमा भइरहेका भ्रष्टाचार, कमिसनलगायत सामाजिक रुपमा विकृति–विसंगतिको रुपमा रहेका लागु औषध, यौन व्यापार, धर्म व्यापार, जनता लुट्न वित्तीय संस्था, कर छलुवा एनसेलविरुद्ध जनसंघर्षका कार्यक्रम भइरहेको बताए । अनलाइन डबलीसँग कुरा गर्दै पुनले ब्यूरो बैठकले निर्णय गरेका योजना कार्यान्वयनमा रहेको समेत बताए ।

    केन्द्र पार्टीको नीति र निर्देशनअनुसार राजनीतिक हस्तक्षेप वा संघर्षलाई प्रधान बनाइएको बताए । उनले आफ्नो पार्टीका धेरै नेता कार्यकर्ता जेल र हिरासतमा रहेपनि फौजी संघर्ष गर्न नसक्ने गरी कमजोर नभएको दाबी गरे ।

    “प्रतिबन्धपछि जारी दमन र गिरफ्तारीले धेरै नेता–कार्यकर्ता जेलमा हुनुहुन्छ । तर, निकै कमजोर भयो भनेर कतिपयले भतेर गरेको सुनिन्छ । अहिले पार्टीले राजनीतिक संघर्षलाई प्रधान बनाएको छ । हाम्रो ब्यूरोमा पनि पार्टीको नीतिअनुसारै योजना बनेका छन् । अहिले पहिलो चरणमा छौं । यो चरण सकिए फौजी संघर्षको चरण सुरु हुन्छ” पुनले भने ।

    आफ्नो पार्टी र सुरक्षाकर्मीबीच भिडण्त हाेस् भन्ने केही व्यक्तिहरुले चाहेको भन्दै त्यसैअनुसार अभिव्यक्ति र केही प्रचार गरिएको बताउँदै पुनले सुरक्षाकर्मीसँग फौजी रुपमा हमाल गर्ने वा आक्रमण गर्ने अहिले पार्टीको नीति नभएको बताए । उनले देशको रक्षा र जनताको हितको लागि सुरक्षाकर्मीलगायत सबैसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

    इन्चार्ज पुनले जसरी एमसीसी सम्झौतासम्म आउँदा वर्तमान सरकार देश र जनताको पक्षमा छैन भन्ने पुष्टि भएको बताए । उनले आफ्नो पार्टीले राष्ट्रिघाती उक्त सम्झौताको विरोधमा देशभर संघर्षका कार्यक्रम जारी राखेको बताए ।

    एक अर्को प्रसंगमा पुनले नेपालमा चारवटा राष्ट्रवादी धारको विकास भएको बताउँदै राष्ट्रवादको नाराभित्र राष्ट्रघात भइरहेको समेत बताए ।

    “नेपालमा अहिले अहिले नेपालमा चारवटा राष्ट्रवाद देखा परेका छन् । पहिलो, गुलाम राष्ट्रवाद, दोस्रो, सामन्ती अन्धराष्ट्रवाद, बोक्र्रे राष्ट्रवाद र प्रगतशिल राष्ट्रवाद” पुनले भने । उनले गुलाम राष्ट्रवादको नेतृत्व संसदवादी पार्टीहरु नेपाली काँग्रेस र एमाले–माकेले नेतृत्व गर्ने, अन्धराष्ट्रवादको नेतृत्व सामन्ती सोँच बोकेका कमल थापालगायत फेरि पनि राजा आउने सपना देख्नेहरुले नेतृत्व गरेको बताए ।

    त्यसैगरी बोक्रे राष्ट्रवादले सहरिया सुकिला–मुकिला बुद्धिजीवि जो, परिवर्तनको विरोधी हुन् र बुद्धिबिसाल गर्नेहरुले नेतृत्व गर्ने बताउँदै पुनले तिनवटै राष्ट्रवादले देश र जनताको नेतृत्व गर्न नसक्ने बताए । उनले तीनवटै राष्ट्रवादले सीमा अतिक्रमणविरुद्ध दरोसँग कुट्टा टेक्न नसक्ने बताए । आफ्नो पार्टीले प्रगतिशील राष्ट्रवादको नेतृत्व गरेको बताउँदै पुनले राष्ट्रिय स्वाधिनताको पक्षमा आफूहरुले सुरुदेखि नै संघर्ष गर्दै आएको बताए ।

    “प्रगतिशील राष्ट्रवादको नेतृत्व हाम्रो पार्टीले गरेको छ । साम्राज्यवादी हस्तक्षेपको विरुद्ध बोल्ने मात्रै होइन, प्रतिरोधपूर्ण संघर्षको नेतृत्व हाम्रो पार्टीले मात्र गर्छ । नेपालको स्वाधिनता र स्वाभिमानको लागि प्रतिशील राष्ट्रवादले रक्षा गर्न सक्छ । यो क्रान्तिकारी कम्युनिस्टहरुले बोक्ने राष्ट्रवाद हो” पुनले भने । उनले प्रगतिशिल राष्ट्रवादको झण्डामुनि गोलबद्ध हुन सबैलाई आग्रह पनि गरे ।

    प्रतिकृया दिनुहोस्