
काठमाडौं । गृहकार्य नगरेको भन्दै रुपन्देहीको एक विद्यालयका विद्यार्थी शिक्षकबाट कुटिएका छन् ।
रुपन्देही सम्मरीमाई गाउँपालिका-६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् ।
कुटाइबाट उनको आँखामा गम्भीर चोट लागेको छ । आँखा सुन्निएर राम्रोसँग हेर्न पनि सकेका छैनन् । उनी हाल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत छन् ।
उनलाई परिवारले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भैरहवा ल्याएका हुन् । तौफिकका परिवार इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका छन् । प्रहरीले उजुरी लिन नमानेको परिवारको गुनासो छ ।
मर्चवार प्रहरीले भने प्रक्रिया नपुगेका कारण उजुरी लिन नसकिएको बताएको छ । यता शिक्षक शैलेन्द्रले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । गृहकार्य नगरेका कारण कुटपिट नभई तर्साएको उनको भनाइ छ ।
गएको जेठ २० गते रोल्पाको रुन्टीगढी गाउँपालिका-८ स्थित भानु आधारभुत प्रावि मगरगौरीमा राहत कोटामा कार्यरत सोही ठाउँमा बस्ने २५ वर्षिय शिक्षिका लक्ष्मी पुन विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी थिइन् ।
५ विद्यार्थीको कुटेर हात भाँचेको उनीमाथि आरोप थियो । साउनको तेस्रो साता (२२ गते) शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका कक्षा ९ का विद्यार्थी माधव कलौनीको गत असार १४ गते भारतमा उपचारका क्रममा मृत्युपछि ३ शिक्षक पक्राउ परेका थिए ।
पछिल्लो समय विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई कारवाहीको दायरमा ल्याउन सुरु गरिए पनि घटना घटेका छैनन् ।
