News Portal

लाखौं घुस रकमसहित सडक डिभिजन प्रमुख समातिए

२६३ पटक

सिरहा । सडक डिभिजन कार्यालय लहानका प्रमुख, इन्जिनियर र सब इन्जिनियर घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई शुक्रबार साँझ प्रहरीले कार्यालयबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कार्यालय प्रमुख विनोद साहलाई ३ लाख तथा इन्जिनियर नविनकुमार साह र सब इन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार कार्यालय बर्दिवासले जानकारी दिएको छ ।

आयोगका कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाका अनुसार उनीहरुले निर्माण व्यवसायीसँग सडक निर्माणको कामका लागि कमिशन रकम माग गरेको बुझिएको छ । तीनैजनालाई शुक्रबार नै बर्दिवास लगिएको प्रमुख सापकोटाले जानकारी दिए ।

अख्तियारले उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध भ्रष्टाचारको मुद्दा दायरसमेत गरेको छ । ढुंगानाविरुद्द शुक्रबार विशेष अदालत काठमाडौंमा साढे ४ करोडभन्दा बढी भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

ढुंगाना र उनकी श्रीमती मधु कोइराला (ढुंगाना) सँग ४ करोड ६८ लाख ४८ हजार बिगो समेत माग गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवामा प्रवेश गरेदेखि हालसम्म खर्च र आम्दानी हेर्दा ढुंगानाले ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत खुलाउन नसकेको अख्तियारको दाबी छ ।

उनले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि भएकोसमेत अख्तियारको ठहर छ । ढुंगानाले गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने र सम्पत्ती श्रीमतिको नाममा राखेको पाइएको हो ।

अख्तियारले ढुंगानाले श्रीमति मधु कोइरालाको नाममा राखेको सम्पत्तिमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम उनकी श्रीमती समेतलाई प्रतिवादी बनाई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएकोे छ ।

प्रतिकृया दिनुहोस्