News Portal

  • देश बनाउन मिडिया क्षेत्रको महत्वपूर्ण भूमिकाः मुख्यमन्त्री शाही

    १२८२ पटक

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउन युवाहरुको नयाँ संकल्प खाँचो रहेको बताएका छन् । गुडलिंक मिडियाद्वारा सञ्चालित कुसेन्यूज डटकम अनलाइन पत्रिकाको तेस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।

    प्रमुख अतिथिका रुपमा रहेका मुख्यमन्त्री शाहीले कर्णालीलाई साँच्चिकै समृद्धितिर लाग्ने हो भने सबैको निस्वार्थ संकल्प र सहयोगको खाँचो रहेको बताए । उनले देशमा आलोचनाको संस्कार बढेकोमा चिन्ता व्यक्त गर्दै स्वीकार र सहयोग गर्न सक्ने आँटको खाँचो रहेको बताए । देश बनाउन मिडिया क्षेत्रको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको पर्यटन विकासका लागि सहयोग गर्न मिडियालाई आग्रह गरे ।

    त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)का कर्णाली प्रदेश सचिव तथा राष्ट्रिय सभा सदस्यका समानुपातिक उम्मेदवार मायाप्रसाद आचार्यले देशमा गणतन्त्र आएपनि अझै पनि परिवर्तन संस्थागत हुन नसकेको बताए । विगतभन्दा केही परिवर्तन पक्कै भएको तर त्यो पूर्ण रुपमा सोचेजती नहुँदा मानिसहरुमा निरासा जाग्न थालेको भन्दै आचार्यले परिवर्तनलाई संस्थागत गरी समृद्धिको बाटोतिर अघि बढ्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने सरकारको आलोचना विकाउनका लागि नभई सुझाव प्रदान गर्न व्यक्त गरिने टिप्पणी भएको जनाए । उनल नेपाली समाज भत्किने दिशातिर उन्मुख रहेकोप्रति चिन्ता गर्दै राज्यसँग स्पष्ट दृष्टि र सोँच नभएका कारण युवा पिढी अर्काको सपनामा दौडिरहेको बताए ।

    गुडलिंक मिडिया प्रा.लि.का अध्यक्ष तथा कुसेन्यूज डटकमका प्रधान भौतिक मल्लले कर्णालीको कोशेलीका रुपमा कुशे न्यूज डटकमको जन्म भएको बताउँदै यसले श्रव्य, दृश्य र लेखनका सामग्रीबाट यहाँको विकटतालाई निकटतामा रुपान्तरण गर्ने जिकिर गरे ।

    वार्षिकोत्सवमा कर्णाली प्रदेशसभाका सदस्यत्रय गणेशप्रसाद सिंह, ठम्मर विष्ट र कृष्ण शाह (आचार्य), वरिष्ठ पत्रकार सङ्केत कोइरालासहित अधिकारर्मी, नागरिक अगुवा, युवा तथा पत्रकार सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रम प्रा.लि.का अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्