News Portal

अर्थका उपसचिव ढुंगानाले अवैध सम्पत्ति आर्जन गरेको खुलेपछि मुद्दा दायर

१८० पटक

काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले सार्वजनिक सेवामा रहँदा पौने ५ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध सम्पत्ति जोडेका ढुंगानाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा चलाएको छ । २०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

जागिर अवधिमा उनको वैध आय ७९ लाख ५४ हजार ७९५ रुपैयाँ ८ पैसा हुनुपर्ने थियो । तर उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ ५३ पैसा देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

यही आधारमा उनको खर्च र लगानीमध्ये चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नसकेको हो। ढुंगानाले अवैध आर्जनबाट श्रीमती मधु कोइराला ढुङ्गानाको नाममा सम्पत्ति थुपारेको देखिएकाले उनीविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ ।

अख्तियारले ढुंगाना दम्पतीविरुद्ध ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी मुद्दा चलाएको हो । अख्तियारका अनुसार साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३ तथा दफा २९ (२), भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) बमोजिम जरिवाना र कैद माग दावी गरिएको छ ।

उनीहरुले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि अख्तियारले विशेष अदालतमा माग गरेको छ ।

प्रतिकृया दिनुहोस्