News Portal

  • सहकारी संस्थाले अपाङ्ग र एकल महिलालाई दियो बाख्रा उपहार

    ५६६ पटक

    गुल्मी । रेसुङ्गा कृषि तथा पशु विकास महिला सहकारी संस्थाले अपाङ्ग र एकल महिलालाई बाख्रा उपहार दिएको छ ।

    रेसुङ्गा नगरपालिका–६ स्थित सहकारी संस्थाले न्यून आय भएका शान्ता मरासिनी र सरस्वती गुरुङ्गलाई बाख्रा वितरण गरेको हो ।

    उनीहरुलाई ४ हजार ५ सयका दरले कुल ९ हजारका एक एक वटा बाख्रा उपहारको रुपमा प्रदान गरिएको छ । ३६ वर्षिय शान्ता मरासिनी ‘ख’ वर्गकी अपाङ्ग हुन् । उनी हिड्डुल गर्न सके पनि बोल्न सक्दिनन् भने उनका श्रीमान माधव पनि अपाङ्ग छन् ।

    मरासिनीका घरमा एक छोरा, सासु–ससुरा र श्रीमान छन् । सरस्वती गुरुङका श्रीमानको छ महिना अघि दुवै मृगौलाले काम नगरेपछि मृत्यु भयो । एक छोरा र एक छोरीको साथमा घरमा बस्दै आएकी गुरुङले समुहबाट बाख्रा उपहार पाएपछि राहत मिलेको छ ।

    सहकारीले नै उनलाई खोर निर्माणको लागि निरव्याज २५ हजार ऋणसमेत उपलब्ध गराउने भएको छ । एकीकृत ग्रामीण विकास समितिमार्फत रेसुङ्गा नगरपालिका-६ मा गत असारबाट एसएलभिसी परियोजना दोस्रो चरण लागू भएको छ ।

    परियोजना अन्तरगत सहकारीले सामाजिक उत्तरदायित्वको रुपमा २ जना महिलालाई बाख्रा वितरण गरेको हो । २०७५ सालमा स्थापना भएको सहकारीले नियमित, बाल, जीवन सुरक्षा, ऐच्छिक बचत तथा खसी बोका, दाना खरिद बिक्री तथा सामाजिक सचेतना लगायतका काम गर्दै आएको सहकारीकी अध्यक्ष कमला पोख्रेलले जानकारी दिईन् ।

    सहकारीमा ३६३ जना महिला आवद्ध छन् । सहकारीले हालसम्म ११ लाख ३३ हजार ४ सय ४० बराबरका १ सय २ वटा खसीबोका बिक्री गरेको पोख्रेलले बताएकी छिन् ।

    प्रतिकृया दिनुहोस्