News Portal

  • आत्मनिर्भर मिडियाको विकास गर्न मन्त्री बाँस्कोटाको सुझाव

    १३९ पटक

    कैलाली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसायप्रति आत्मनिर्भर भई मर्यादित र स्वतन्त्र रुपले बाँच्ने आधार भएको मिडियाको विकास गर्नुपर्ने बताएका छन् ।

    नेपाल पत्रकार महासंघ कैलाली शाखा भवनको उदघाटन गर्दै उनले भने, ‘कोही कसैको दवाव पुग्न नसक्ने प्रेस बनाउन सकिएमा मात्र स्वतन्त्र प्रेस भएको मान्न सकिन्छ ।’ नेपाली मिडियालाई आगामी दिनमा प्रदेशस्तरबाट नै सेवा सुविधा पाउने गरी एकीकृत कार्यालयको स्थापनाको पहल गरिएको बताए ।

    सातै प्रदेशमा स्थापना हुने एकीकृत कार्यालयबाट नै लोककल्याणकारी विज्ञापन, प्रेस पास, उजूरीलगायत सेवा पाउन सकिने बताए । सरकारले ल्याएको सूचना प्रविधि विधेयकमा ‘होडिङ बोर्ड‘ राख्न नपाउने व्यवस्था गरिएकाले मालवस्तु बेच्नेहरुले मिडियाको सहारा लिनुपर्ने अवस्थाले नेपाली प्रेस लाभान्वित हुने पनि बताए ।

    हाल सञ्चालनमा रहेका एफएम रेडियोमध्ये व्यापारिक र सामुदायिक कुन हुन् भन्ने नछुट्टिएकाले एफएमहरुलाई व्यवस्थित गर्न लागिएको बताए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मिडियालाई सबल र सक्षम बनाउने काममा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

    पत्रकार महासंघका लागि धनगढी उपहानगरपालिका वडा नं १ मा नगर विकास समितिले नि : शुल्क जग्गा उपलब्ध गराएको थियो । सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा ३० लाखको लागतमा ४ कोठा र एक सभाकक्षसहितको एकतले भवन निर्माण भएको छ ।

    प्रतिकृया दिनुहोस्