News Portal

  • हत्यामा संलग्न १५ वर्षिय बालकलाई जन्मकैद

    १३५ पटक

    सिन्धुली । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका १५ वर्षिय बालकलाई जन्मकैदको फैसला गरेको छ ।

    अदालतले मरिण गाउँपालिका १ आहालेकी १३ वर्षिय छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो ।

    उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना ७ दिन कैद हुने फैसला अदालतले गरेको हो ।
    जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले यो फैसला गरेको हो । छलिमायासँग यौन प्रस्ताव राख्दा अस्वीकार गरेपछि बालकले गएको असोज २ गते हत्या गरेका थिए ।

    घर नजिकैको जङ्गलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो । छलिमायाको शव गएको असोज ३ गते घाँटी निमोठी, थिची हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

    हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा गएको असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो ।

    उनी १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने छन् ।

    प्रतिकृया दिनुहोस्