News Portal

लागुऔषध ओसार पसारमा संलग्न ४ जना पक्राउ

१३१ पटक

सप्तरी । सप्तरी र सिराहा जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसार पसारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई सप्तरीको बोदेबर्साइन, लहान नगरपालिका, सिराहको बरियापट्टि लगायतका स्थानबाट लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बी आर ३२ वाई ८४५० नं.को मोटरसाइकलमा सवार बोदेबर्साइन वडा नं.१० खडकपुर बस्ने २५ वर्षिय प्रेम कुमार मण्डल सिम्राहाबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मण्डलको हेलमेटबाट निरटाभेट ट्याबलेट ७ पिस फेला पारेको हो । बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १० प ७१५३ नं.को मोटरसाइकलमा सवार २६ वर्षिय उदय नारायण चौधरीलाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।

चौधरीको साथबाट लागुऔषध फेनारगन २ सय ५४ पिस, डाइजील्याप २ सय ५५ पिस र नोफिन २ सय ५२ पिस बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक कुमार तिमल्सिनाले जानकारी दिए । शुक्रबार साँझ पनि सिरहाको प्रहरी टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट २६ वर्षिय मुहम्मद एमामुदिन र १९ वर्षिय मोहमद रहिमलाई पक्राउ गरेको थियो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स ५ प ५०७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा एमामुदिनको साथबाट नाईट्रोभेट ट्याबलेट ७ सय २० पिस फेला परेको थियो ।

यस्तै, रहिमको साथबाट नाईट्रोभेट ट्याबलेट ४५ पिस गरी जम्मा ७ सय ६५ पिस ट्याबलेट बरामद भएको र पछिल्लो केही समय यता सप्तरी र सिरहा जिल्ला लागुऔषध ओसार पसारको केन्द्रबिन्दु बन्दै गएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्