News Portal

  • नक्कली भ्याट बिल प्रकरण, हजार बढी फर्ममा अनुसन्धान

    ३१८ पटक

    काठमाडौं । राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली बिजक बिक्री गरी राजस्व छलेको आशंकामा एक हजारभन्दा बढी कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ ।

    विभागले नक्कली बिजक बिक्री गर्ने १३० फर्म र त्यस्ता बिल खरिद गर्ने ९८१ फर्ममाथि अनुसन्धान अघि बढाएको हो । झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल खरिद गरी राजस्व छल्नेमा अस्पताल, खुद्रा तथा थोक बिक्रेता, जलविद्युत कम्पनीदेखि बहुराष्ट्रिय कम्पनी छन् ।

    यस्ता कम्पनीले १३ अर्बभन्दा बढी राजस्व छली गरेको देखिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । विभागले एक वर्ष अघिदेखि झुटा तथा नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

    त्यसमध्ये विभागले ५२ फर्मविरुद्ध अदालतमा मुद्दासमेत दायर गरिसकेको छ ।

    ‘५७ कम्पनीमाथि तीव्र अनुसन्धान भइरहेको छ, १८ विरुद्ध मुद्दा नै दायर गरिसकेका छौँ,’ उनले भने, ‘नक्कली बिजकको कारोबार गरी राजस्व छल्ने कार्यमा संलग्न फर्मको संख्या अझ बढ्न सक्ने देखिन्छ ।’ अनुसन्धानमा रहेका ९८१ मध्ये १३० फर्मले मात्रै १२ अर्बभन्दा बढी रकमको नक्कली भ्याट बिल खरिद गरेको पाइएको विभागले जनाएको छ ।

    अनुसन्धान अघि बढ्दै जाँदा राजस्व छली र त्यसमा संलग्न फर्मको संख्या बढ्दै गएको उनले बताए । नक्कली बिलबिजक खरिद गरेर राजस्व छली गर्नेमा ठूला कम्पनी बढी संलग्न छन् ।

    वार्षिक अर्ब रूपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले नक्कली बिल खरिद गरेर राजस्व छली गर्ने गरेको अनुसन्धानबाट देखिएको छ ।

    विभागले बिहीबार मात्रै बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजलाई नक्कली भ्याट बिल प्रकरणमा मुद्दा दायर गरेको छ । नेपालका लागि पेप्सीको आधारिक रूपमा बोटलिङ गर्ने कम्पनी बरुण वेभरेजले ६४ करोड ९६ लाख रुपैयाँ राजस्व छलेको भन्दै १ अर्ब ९४ करोड ८८ लाख बिगो जरिवाना र सञ्चालकलाई ३ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
    गरिब तथा अनपढका नाममा कम्पनी खडा गरी नक्कली बिजक जारी गर्दै राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको छ ।

    राजस्व छलीका प्रमुख योजनाकारले ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिलाई प्रलोभनमा पारी उनीहरूको नाममा कम्पनी खोल्ने र त्यस कम्पनीबाट नक्कली भ्याट बिल जारी गरेको पाइएको छ ।

    यसरी जारी गरेका नक्कली भ्याट बिल बुहराष्ट्रिय कम्पनीसम्मले खरिद गरेका छन् । मालवस्तुको कारोबार नगरी बिजक मात्रै जारी गरेर योजनाबद्ध रूपमा कर छली गरेको पाइएको महानिर्देशक मैनालीले जानकारी दिए । ‘हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौँ, साना–ठूला धेरै फर्म कर छलीमा संलग्न देखिन्छ,’ उनले भने, ‘क्रमशः मुद्दा दायर गर्नेछौँ ।’

    प्रतिकृया दिनुहोस्