News Portal

  • हेलम्बु गाउँपालिकामा चौँरीको नि : शुल्क बीमा

    ४१४ पटक

    सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौँरीको बीमा गरेको छ ।

    गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् । वर्षको ९ महिनाभन्दा बढी समय खर्कमा चौँरी चराउने वडा नं.२ का पेम्बा शेर्पाले चौँरी मर्दा हुने जोखिम कम हुने भएपछि खुशी भए ।

    गाउँपालिकाभित्रका फिरन्ते चौँरी गोठलाई लक्षित गर्दै खर्क र गोठमा पालिएका सबै चौँरीको नि : शुल्क बीमा योजना अघि बढाइएको छ । सरकार र किसानको संयुक्त लगानीमा पशु बीमाअन्तर्गत किसानले तिर्नुपर्ने बीमाङ्क गाउँपालिकाले उपलब्ध गराउनुपर्ने छ ।

    ७५ प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत किसान स्वयंको लगानीमा बीमा कार्यक्रम छ तर, गाउँपालिकाले किसानलाई चौँरी पालनमा सक्रिय बनाउन उक्त २५ प्रतिशत आफैँ तिर्ने भएपछि किसानलाई नि : शुल्क चौँरी बीमाको अवसर मिलेको हो ।

    गाउँपालिकाको निर्णयअनुसार हाल १६ गोठमा रहेका ४ सय बढी चौँरीको नि : शुल्क बीमा गरिएको छ । बीमा कार्यक्रमले चौँरी खरीददेखि पालनमा खर्च गरिएको लगानी सुरक्षित बनाएको छ । १ लाख बढी मूल्य पर्ने चौँरी मर्दा किसानले व्यहोर्नुपर्ने घाटाबाट बीमा कार्यक्रमले मुक्ति मिलेको छ ।

    “गोठ सार्दै जाँदा चौँरी बिरामी भएर मर्ने जोखिम हुन्छ, केही गरी मरिहालेमा अब भने बीमा कार्यक्रमले लगानी जोगिनेमा ढुक्क बनायो”, शेर्पाले भने । पशुको मृत्युपछि घाटा व्यहोर्ने हुँदा विस्तारै चौँरीपालनतर्फ किसानको आकर्षण घट्दै गएको थियो ।

    चौँरी पकेट क्षेत्र बनाई किसानलाई व्यावसायिक पशुपालक बनाउन बीमा कार्यक्रम नि : शुल्क बनाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्