News Portal

  • बेपत्ता पत्रकार खड्काको पर्स र झोला भेटियो

    १९० पटक

    बाजुरा । बेपत्ता पत्रकार तेजु खड्काको सामान स्थानीयले भेटेका छन् ।

    १४ महिनादेखि बेपत्ता उनलाई स्थानीयले बुढीनन्दा माताको मन्दिर जाने बाटोमा पर्ने लौरीविनायक पाटनमा पत्रकार खड्कासँग सम्बन्धित सामान भेटेका हुन् ।

    स्थानीयले पत्रकार खड्काको पर्स, झोलालगायतका सामान भेट्टाएका छन् । सामुदायिक रेडियो बुढीनन्दामा कार्याररत उनी गएको वर्ष भदौ ९ गतेदेखि बेपत्ता छन् । पाटनमा पर्स, झोला र सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेका हुन् । पर्समा उनको परिचय पत्र र लाइसेन्स भेटिएपछि प्रहरीलाई खबर गरेको स्थानीय नागरिक पदम रोकायले जानकारी दिए ।

    नजिकै केही कंकाल पनि भेटिएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

    घटनाको सत्यतथ्य बुझ्नका लागि पत्रकार, स्थानीय नागरिकसहितको प्रहरी टोली त्यसतर्फ गएको र प्रहरी टोलीले घटनास्थलमा भेटिएको प्रमाणहरुको मुचुल्का तयार गर्ने र अवस्थाको अध्ययन गर्ने बताएको छ ।

    सामुदायिक रेडियो बुढीनन्दाको आकस्मिक बैठक बसी घटनास्थलमा पत्रकार जीवन कैला र ललित नाथलाई पठाउने निर्णय गरिएको छ । उनी बेपत्ता भएको धार्मिकस्थल बुढीनन्दा समुन्द्री सतहबाट झण्डै ४२ सय मिटरको उचाइमा रहेको र पत्रकार खड्का ४१ सय मिटरको उचाइ क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ भन्ने ठाउँबाट सम्पर्कविहीन भएको बताइएको छ ।

    रेडियो नेपालको दिपायल प्रदेश प्रसारण केन्द्र दिपायल, हुँदै केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमासमेत काम गरिसकेका उनी पछिल्लो समय बजुराको कोल्टीमा रहेको रेडियो बुढीनन्दामा स्टेशन म्यानेजरको रुपमा कार्यरत थिए ।

    बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केको र पछि एकाएक बेपत्ता भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्