News Portal

  • झाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा ५ जना पक्राउ

    २०६ पटक

    लहान । झाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

    गाउँघरमा धामी-झाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायतका ४० वर्षिय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका-१२, सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको थियो ।

    घटना भएको करिब दुई सातापछि सिरहा प्रहरीले झाँक्री यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको धनगढीमाई नगरपालिका-१० का ३८ वर्षिय फुलगेन साह, निजको भतिजा मिर्चैया नगरपालिका-४ का जितेन साह, १९ वर्षिय रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका-६, सरुवामडाका २५ वर्षिय अजय महतो र २१ वर्षिय राजलाल महतोलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

    झाँक्रीको काम गर्दै आएका यादवको केही समयअघि फुलगेन साहसँग चिनजान भएको र उनकै माध्यमबाट अन्य व्यक्तिहरुसँग पनि झाँक्री यादवको चिनजान भएको थियो । सोक्रममा ती व्यक्तिहरुसँग यादवले ‘भूतप्रेत भगाउन झारफुक गरिदिन्छु’ भन्दै पैसा लिएको तर बिरामी निको हुनुको साटो झन् समस्या बढेको गुनासोहरु आएको प्रहरीले जनाएको छ ।

    चिनजानकै क्रममा फुलगेन साह तथा झाँक्री यादवबीच केही रकम लेनदेन भएको र झाँक्रीले फुलगेनसँग लिएको रकम फिर्ता माग्दा उल्टै झाँक्री यादवले फुलगेनलाई ज्यानमार्ने धम्की दिएपछि योजनाबद्ध तरिकाले ती पाँचैजना मिलेर झाँक्रीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

    घटनालगत्तै गरिएको अनुसन्धानका क्रममा अभियुक्तहरुले हत्यामा प्रयोग गरेको खुकुरीका साथै केही अन्य प्रमाणहरुसमेत फेला र पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्