News Portal

मिर्गौलापीडितले सुविधा यथावत राख्न माग गर्दै गरे प्रदर्शन

१८० पटक

काठमाडौं । मिर्गौलापीडितहरुले आफुहरुलाई उपलब्ध गराउदै आएको सबै सहयोग पुर्ववत् ढंगले उपलब्ध गराउन माग गर्दै प्रर्दशन गरेका छन् ।

मिर्गौलापीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् ।

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका उनीहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बने । प्रधानमन्त्री स्वयम मिर्गौलापीडित भएर पनि आफुहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मिर्गौला पीडितहरुले आन्दोलनको घोषणा गरे । आफुले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले आक्रोश पोखेका छन् ।

मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीका अनुसार पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , नि : शुल्क हेमोडायलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डायलाइसिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् ।

माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेका मिर्गौला पीडित दिलाराम ओलीले बताए । प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि उनीहरु बालुवाटारबाट नाराबाजी गर्दै माइतीघरमण्डल पुगे । उनीहरुले मण्डलमा पनि केही समय प्रर्दशन गरेका थिए ।

प्रतिकृया दिनुहोस्