
रौतहट । आज निलम्वित सांसद मोहम्मद अफताब आलमको मुद्धामा थुनछेक बहस हुने भएको छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा बहस हुने छ । १२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा गत असोज २६ गते उनी पक्राउ परेका हुन् ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका आलम पक्राउ परेका हुन् ।
रौतहटको यमुनामाई गाउँपालिका ४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
सर्लाहीस्थित गडैता २ का सफि अहमद र भारत सितामणी जिल्ला बैरगनिया २ का ४२ वर्षिय गौरीशंकर रामले बम विस्फोटनमा घाइते भएको उजुरी दिएका थिए ।
