News Portal

  • कीर्ते गरी ४ करोड ६० लाख ठगी गर्ने ६ जना पक्राउ

    १५४ पटक

    काठमाडौं । नक्कली कागजात तयार गरी ४ करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
    नक्कली कागजात बनाएर काठमाडौं-३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट ४ करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनीयर भेषराज खत्री, मोरङ बेलबारी-३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौंडा-४ घर भई काठमाडौं-३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौं-३ महराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा-९ घर भई हाल काठमाडौं नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाईघाट घर बताउने हाल काठमाडौं-७ चाबहिलमा बस्दै आएका कृष्ण कार्की रहेका छन् ।

    ‘बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो’, प्रवक्ता श्रेष्ठले भने,‘राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखेको पाइयो । उनीहरुले झापा कनकाई-९ स्थित कित्ता नं ३५९६ को ०-२-१० बिघा र कित्ता नं ३२७१ को ०-२-० बिघाको जग्गाको कीर्ते नक्सा तयार गरी खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको उनले बताए ।

    उनीहरुविरुद्ध गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्