News Portal

  • हाइड्रोको सुरुङभित्र फसेका ४ जना मजदुरको शव निकालियो

    १८१ पटक

    बझाङ । निर्माणाधीन कालंगा हाइड्रोको सुरुङबाट ४ जना मजदुरको शव निकालिएको छ ।

    बुंगल नगरपालिकामा निर्माण भइरहेको हाइड्रोको सुरूङबाट सोमबार ३ र मंगलबार एक जनाको शव निकालिएको हो । आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी सुरु गरिएको थियो ।

    सुरूङभित्र पसेका ६ जनामध्ये २ जना आइतबारै बाहिर निस्किएका थिए । सास फेर्न गाह्रो भएपछि उनीहरु निस्किए । अरु बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको उद्धार टोलीले ३ मजदुरको शव सोमबार बेलुका निकालेको थियो ।

    थप एक जनाको शव मंगलबार दिउँसो १ : ३० बजेतिर निकालिएको प्रहरीले जनाएको छ । दैलेखको गुराँस गाउँपालिका–३ का ३२ वर्षिय महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका–६ का २८ वर्षिय महेन्द्र साउँदको शव सोमबार निकालिएको थियो ।

    बझाङको बुंगल नगरपालिका-१ का ३५ वर्षिय शेरसिंह धामीको शव मंगलबार दिउँसो निकालिएको उद्धार टोलीका प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालले जानकारी दिए । उनको शव सुरुङको प्रवेशद्वारबाट करिब १३ सय मिटर पर फेलाअ परेको उनले बताए ।

    ३ जनाको शव भने १२ सय मिटर पर फेला परेको थियो । सुरुङभित्र झन्डै ३०० मिटर परसम्म माक्स मात्रै लगाएर जान सकिन्छ । त्योभन्दा पर भने अक्सिजनसहित जानपर्ने बताइएको छ । सुरुङभित्र अक्सिजनको कमीका कारण उनीहरुको निसास्सिएर मृत्यु भएको कटुवालको भनाइ छ ।

    आफूहरुलाई पनि उद्धार गर्दा निकै समस्या भएको उनले बताए । सुरुङभित्र आँखा पोल्ने, रिंगटा लाग्ने र साथमा लिएर गएको अक्सिजन छिटो–छिटो सकिने समस्या आएको उनले बताए । मृतक चारैजनाको शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल बझाङ ल्याइने प्रहरीको भनाइ छ ।

    उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली खटिएको थियो । सुरुङभित्र भने सशस्त्र प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बम, हवल्दार शिवहरि अधिकारी र सहायक हवल्दार ललित खाम्चा गएका थिए ।

    प्रतिकृया दिनुहोस्