News Portal

प्रसूति अस्पतालमा नवजात शिशुको मृत्यु, परिवारद्वारा शव बुझ्न अस्वीकार

२१२ पटक

काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि परिवारले शव बुझ्न अस्वीकार गरेका छन् ।

आइतबार बिहान गोरखा आरुपोखरी-७ घर भएका कृष्णबहादुर कुँवरले ३५ वर्षिय पत्नी ज्ञानुकुमारीलाई प्रसूतिका लागि भर्ना गरेका थिए । सोमबार बेलुका प्रसूति कक्षमा लगिएकी ज्ञानुकुमारीबाट मङ्गलबार बिहान जन्मिएको बच्चाको मृत्यु भएको परिवारजनको भनाई छ ।

चिकित्सकले भने सालनाल बेरिएका कारण गर्भमै बच्चाको मृत्यु भएको बताएको छ । ‘मरेकै बच्चा जन्मिएको हो भने सालनाल किन काटेको ? बच्चा किन सफा गरेको ?,’ कृष्णबहादुरले प्रश्न गरे ।

बच्चाको नाकबाट रगत आएको, बच्चालाई सफा गरिएको र सालनाल काटेका कारण जीवित बच्चा जन्मिएर चिकित्सकको लापरवाहीका कारण मरेको हुन सक्ने उनको जिकिर छ । हाल पत्नी ज्ञानकुमारीकोसमेत स्वास्थ्य अवस्था नाजुक रहेको उनले बताए ।

चिकित्सकले ‘आइसीयु’ मा भर्ना गर्नुपर्छ भनेको उनले सुनाए । ‘आइसीयुमा राख्नुपर्छ भनेका छन्,’ उनले भने, ‘बच्चाको त्यो हालत भयो, अब बच्चाको आमालाई यो अस्पतालमा राख्दिनँ, यहाँ जेसूकै हुन सक्ने रहेछ ।’

उनले शिशुको शवसमेत आफूले नबुझ्ने बताए । ‘अहिले पत्नीको स्वास्थ्य मेरो लागि महत्त्वपूर्ण हो,’ उनले भने, ‘अर्कै अस्पतालमा लगेर पहिला उनलाई बचाउँछु, त्यसपछि शिशुको बारेमा कुरा गर्न आउँछु ।’

प्रतिकृया दिनुहोस्