
हेटौँडा । ६ वर्षअघि विन्दवासिनी कंसाकारलाई एसिड छ्यापेर फरार रहेका भारत महाराजगञ्ज अमरपूर्वन ६ का ‘राज’ भनिने दिलीपराज केशरीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै पीडित कंसाकारले एसिड छ्यापेर भाग्ने केशरीलाई कडा कारबाहीको माग गरिन् । हेटौँडाको मेनरोडमा रहेको आफ्नै पसलमा बसिरहेको समयमा कंशाकार एसिड आक्रमणमा परेकी थिईन् ।
एसिड प्रहारबाट दशैभरि धेरै पीडित रहेकाले उनीहरुको न्यायको निम्ति पनि फाँसीको सजाय दिनुपर्ने कंसाकारले पत्रकार सम्मेलनमा माग गरिन् । प्रहरीले केशरीलाई बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका २३ को भलोहीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
झण्डै ६ वर्षअघि एसिड छ्यापेर फरार रहेका केशरीलाई शुक्रबार मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैगर्दा विन्दवासीनी कंसाकारले आक्रोश थाम्न सकिनन् ।
पत्रकार सम्मेलनकै क्रममा पीडित कंसाकारले पीडक दिलीपलाई देखेपछि आक्रोश पोख्न लाग्दा प्रहरीले रोक्यो । तर पनि दिलीपलाई पत्रकारकै सामु पटक पटक झम्टेर पिट्न लाग्दा कंसाकारकै आफन्तले रोके ।
एसिड आक्रमणबाट गम्भीर घाइते भएकी हेटौँडाकी विन्दवासीनी कंसाकारले उपचारका क्रममा अहिलेसम्म ८० लाख रुपैयाँ खर्च भएको बताईन् । एसिड प्रहारपछिको यो अवधिमा विभिन्न अस्पतालमा गरी ८० लाख रुपैयाँ खर्च भएको र अहिले पनि उपचाररत रहेको उनको भनाइ छ ।
