News Portal

  • सुनकोशी नदीमा भएको बस दुर्घटनाका मृतकको संख्या १८ पुग्यो, ५१ जना घाइते

    २७६ पटक

    सिन्धुपाल्चोक । सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

    दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ आइरहेको बा २ख ७२४५ नं.को बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेनजिकै नदीमा खस्दा ६ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा ५१ जना घाइते भएका छन् । मृत्यु हुनेमा १३ महिला र ५ जना पुरुष रहेका सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । १५ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

    सोमबार बिहान नेपालथोकमा एक बालिकाको शव भेटिएको हो । बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको छ । सोमबार बिहानसम्म १७ जनाकै सनाखत भएको छ ।

    सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-४ की ३० वर्षिय चमेली श्रेष्ठ र उनकी ६ वर्षिय छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका-९ की २४ वर्षिय रञ्जिता केसी, शैलुङ गाउँपालिका-३ की ५० वर्षिय रत्नकुमारी राउत, उनका २८ वर्षिय छोरा किरण राउत, सोही ठाउँकी ३ महिनाकी शिशु सिसन तामाङ, शैलुङ -५ का रितेश खड्का र शैलुङ-७ की कविता राउतको घटनास्थलमा मृत्यु भएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुने अन्यमा काभ्रेको रोशी गाउँपालिका-५ की सजिना तामाङ, पूरा ठेगाना नखुलेकी दोलखाकी उर्मिला मोक्तान, अर्का वतन नखुलेका ३ महिने शिशु रोशन तामाङ र शैलङ-४ का दिल लामा रहेका छन् ।

    बनेपास्थित सिर मेमोरियल अस्पतालमा शैलुङ-४ की ६ वर्षिय बालिका सलिना तामाङ र धुलिखेल अस्पतालमा ५२ वर्षिय चेतकुमारी बस्नेतको मृत्यु भएको थियो ।

    त्यसैगरी शैलुङ गाउँपालिका ५ का ३८ वर्षिय सानु राउत आले, शैलुङ २ की ७० वर्षिय उर्माया मोक्तान र चितवन पातिहानीकी पूजा बस्नेतको पनि सनाखत भएको प्रहरी जनाएको छ ।

    दोलखाकी बालिका वियाना तामाङको शव सोमबार भेटिएको हो । घाइते ५१ जनालाई धुलिखेल अस्पताल लगिएको छ । गम्भीर २ जनालाई काठमाडौं रिफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ । चालक धनबहादुर श्रेष्ठ गम्भीर घाइते छन् ।

    स्काभेटरले नदीबाट बस निकालेपछि घाइतेको उद्धार गरिएको थियो । उद्धारका लागि रिसोर्टका र्याफ्टिङ बोट पनि प्रयोग गरिएको थियो । स्थानीय, र्याफ्टिङ गाइड, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएका थिए । नदीमा केही यात्रु बेपत्ता भएको आशंकाले सोमबार पनि नदी किनारमा खोजी कार्य जारी राखिएको छ ।

    प्रतिकृया दिनुहोस्