News Portal

  • अनैतिक सम्बन्धले नितुको हत्या, श्रीमानसहित २ जना पक्राउ

    १६२ पटक

    वीरगन्ज । नितु देवी पासवानको हत्याको अनुसन्धानका लागि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

    पर्साको जीराभवानी गाउँपालिका ३ परसवाकी मृतक नितुका श्रीमान रामबाबु पासवान र श्रीमानका भिनाजुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    दुवैजनालाई सोमबार बिहान पासवानकै घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा नितुदेवीको शव फेला परेको थियो ।

    ठोरी गाउँपालिका ५ को ओरिया खोलादेखि पूर्वतिरको झाडीमा शव आइतबार बेलुकी फेला परेको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

    टोलीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले मृतक नितुका श्रीमान पासवान र पासुवानका भिनाजुलाई अनुसन्धानका लागि सोमबार बिहान नियन्त्रणमा लिएको हो ।

    मृतक नितु देवीका छिमेकीका अनुसार नितुका श्रीमान पासवानको परस्त्रीसँग अनैतिक सम्बन्ध रहेको नितुले थाहा पाएपछि पासवानले श्रीमति नितुको हत्या गरेका हुन् । आइतबार नितुलाई भारतमा रहेको ससुराली घरमा पुर्याइदिने भन्दै पासवानले घरबाट उनलाई मोटरसाइकलमा चढाएर निस्किएका थिए । तर बाटोमै उनले नितुलाई खोलाको झाडीमा लगेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको उनका छिमेकीले बताएका छन् ।

    प्रहरीले शंकास्पद २ जनालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्