
कैलाली । बसको ठक्करबाट ज्यान गुमाएकाको शव १८ घण्टा देखि सडकमै रहेको छ ।
घोडाघोडी नगरपालिका १० पहलमानपुरमा आइतबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका राम बहादुर चौधरीको शव अहिलेसम्म सडकमै रहेको छ ।
दुर्घटनामा ज्यान गुमाएका अर्का व्यक्ति मानबहादुर चौधरीको शव सेती अञ्चल अस्पतालमा रहेको छ । दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्त र स्थानीयहरूले अवरुद्ध गरेको सडक अझै सुचारु भएको छैन ।
आइतबार दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । राति अबेर सम्म बार्ता नमिलेपछि यात्रुको सहजताको लागि सडक सुचारु भएको थियो । सोमबार बिहान ८ बजे देखी फेरि राजमार्ग अवरुद्ध भएको प्रहरीको भनाइ छ ।
कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनिक खाएर नेपालगन्ज तर्फ आउँदै गरेको भे १ ख १७३२ नं.को बसले घोडाघोडी नगरपालिका-१० पहलमानुरमा से ३ प ६३७६ नं.को मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी १० का ४० वर्षिय रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका अर्का मोटरसाइकलमा सवार सोही ठाउँका ४२ वर्षिय मान बहादुर चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो ।
अहिले समितिका पदाधिकारी र मृतकका आफन्तबिच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
