News Portal

  • एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशाः विद्रोहसहितको जनयुद्ध

    १९५१ पटक

    आरम्भ

    हामीले नेपाली क्रान्तिको सैन्य कार्यदिशालाई ‘एकीकृत सैन्य रणनीति’ का नाममा संश्लेषण गरेका छौँ । यो रणनीतिलाई हामीले विगत सर्वहारा वर्गले प्रयोग ‘गरेका अल्पकालीन विद्रोह’ र ‘दीर्घकालीन जनयुद्ध’ का दुई फरक रणनीतिहरूको एकीकृत स्वरूप बताएका छौँ । दीर्घकालीन जनयुद्ध र अल्पकालीन सशस्त्र विद्रोहलाई सर्वहारा वर्गका फरकफरक सैन्य रणनीतिका रूपमा प्रयोग हुँदै आएको पृष्ठभूमिमा हामीले एकीकृत रणनीतिको बहस अघि बढाउँदा कम्युनिस्ट आन्दोलनमा एउटा स्वाभाविक तरङ्ग पैदा भएको छ ।

    प्रत्येक नयाँ विषयमा सकारात्मक वा नकारात्मक जुन कुनै पनि कोणबाट बहस हुनु स्वाभाविक र आवश्यक दुवै हुन्छ । तर कतिपय मित्रहरूले हाम्रो यो संश्लेषणबारे साह्रै रुखो पाराले भन्ने गरेका छन्, ‘दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहभन्दा बाहिर अर्को कुनै पनि कार्यदिशा वा सिद्धान्त हुनै सक्दैन । कोही कसैले भनेमा त्यो गैह्रमाक्र्सवाद हो । ’उनीहरू अझै अगाडि बढेर तर्कना गर्छन्– ‘एकीकृत सैन्य रणनीति केवल एउटा रहस्य मात्र हो । यो सारसङ्ग्रह हो । अन्ततः यो विसर्जन हो ।’

    हरेक सिद्धान्तको जन्म रहस्यकै गर्भबाट हुने गर्दछ । त्यो त्यति बेलासम्म रहस्यको विषय बनिरहन्छ जति बेलासम्म त्यसलाई यथार्थको धर्तीमा पाइला टेक्न दिइँदैन वा टेक्न सक्दैन । आजको प्रकृति विज्ञानले के कुरा प्रमाणित गरिसकेको छ भने पदार्थको गति सापेक्षित हुन्छ । अतः प्रत्येक वस्तुको गति अनुमान नहुँदासम्म र त्यसको परिचालनसम्बन्धी नियमहरू पत्तो नलाग्दासम्म त्यो मानिसहरूका लागि रहस्यकै विषय हुने गर्दछ । विज्ञानका हरेक सिद्धान्तहरूको जन्म यसैगरी हुने गरेको आजसम्मको इतिहास छ । यो अर्थमा एकीकृत सैन्य रणनीतिप्रति आश्चर्य प्रकट गरिनु ठीकै हो । हाम्रा मित्रहरूले एकीकृत सैन्य रणनीतिको गति तथा यसको परिचालनसम्बन्धी नियमहरू अझैँ बुझ्नसकेका छैनन् । त्यसैले उनीहरूका लागि यो रहस्यको विषय बनेको छ । हामी एकीकृत सैन्य रणनीतिका बारे मित्रहरू र धेरैभन्दा धेरै जनतालाई बुझाउन चाहन्छौँ । यो हाम्रो पार्टीको अहम् कर्तव्य पनि हो ।

    एकीकृत सैन्य रणनीतिको पृष्ठभूमि

    एकीकृत सैन्य रणनीतिको गर्भाधारण वास्तवमा २०५७ सालमा भएको हो । तत्कालीन माओवादी जनयुद्ध प्रहरी शक्तिका विरुद्ध निर्णायक लडाइँ लडिरहेको बेला थियो त्यो । त्यो बेला प्रहरी शक्तिले ठूलो पराजय बेहोरिरहेको थियो । प्रहरीको उक्त पराजय जनयुद्धका लागि झन् ठूलो चुनौतीको निम्तो भइरहेको थियो । किनकि प्रहरी शक्ति पराजित भएमा त्यसको ठाउँमा शाही नेपाली सेनाको आगमन हुन जान्थ्यो । शाहीसेना प्रहरी शक्तिभन्दा अझ सशक्त थियो । उक्त सम्भावित, कठिन, अन्तिम तर अनिवार्य चुनौतीलाई ध्यानमा राखेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलनले जनयुद्धको सैन्य रणनीतिमा विकासका लागि केही नयाँ अवधारणा अघि बढायो । सम्मेलनको दस्ताबेजमा विश्वपरिस्थितिको ब्याख्या गर्दै दीर्घकालीन जनयुद्ध र अल्पकालीन विद्रोहको रणनीतिमा थप विकास गर्नुपर्ने तर्क गरियो । यी दुई रणनीतिहरूको एकीकृत परिचालन गर्नुपर्ने धारणा अघि बढाइयो । यसवारे दस्ताबेजमा भनिएको छ, ‘शीतयुद्धको समाप्ति, कथित एकध्रुवीय साम्राज्यवादी विश्वको अवस्था, भूमण्डलीकरणका नाममा तेस्रो विश्वका उत्पीडित राष्ट्रहरूमा कायम हुन गएको साम्राज्यवादी पुँजीको प्रमुख उदारीकरण र निजीकरणका नाममा विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष ९क्ष्ःँ० लगायत आर्थिक संस्थामार्फत तेस्रो विश्वका प्रत्येक देशको अर्थतन्त्रमाथि कायम गराइएको प्रत्यक्ष नियन्त्रण, इलेक्ट्रोनिकलगायत सूचना प्रविधि एवम् विज्ञानमा भएका विकासका आधारमा साम्राज्यवादले तयार पारेका विश्व फौजी रणनीति आदिको प्रभावले २१ औँ शताब्दीमा जनयुद्धको फौजी रणनीतिका बारेमा सर्वहारावर्गले पनि अझ माथि उठेर संश्लेषण गर्नु अनिवार्य भएको छ । वस्तुतः यो नयाँ परिस्थितिले सामान्यतः बीसौँ शताब्दीको ८० को दशकसम्म आमविद्रोह र दीर्घकालीन जनयुद्धको रणनैतिक भेदको प्रकृतिमा आएको परिवर्तनलाई स्पष्ट सङ्केत गर्दछ ।’

    उक्त प्रतिवेदनले अझैँ अगाडि भनेको छ, ‘आज पनि विकसित साम्राज्यवादी मुलुकहरूका निमित्त आमविद्रोह र तेस्रो विश्वका उत्पीडित देशहरूका लागि दीर्घकालीन जनयुद्धकै बाटो अवलम्बन गर्न अनिवार्य छ तर विश्व– परिस्थितिमा आएको उपरोक्त प्रकारको परिवर्तनले दीर्घकालीन जनयुद्धमा आमविद्रोह र आमविद्रोहमा दीर्घकालीन जनयुद्धका विशेषताहरू एकअर्कोमा घनिष्ठ रूपले जोडिने र जोड्नैपर्ने स्थिति सिर्जना भएको छ ।’

    राष्ट्रिय सम्मेलनद्वारा निचोड गरिएको त्यसखाले फौजी रणनीतिलाई ‘फ्युजन’ को नामकरण गरिएको थियो । त्यही अवधारणाअन्तर्गत रहेर माओवादी पार्टी जनयुद्धका पछिल्ला योजनाहरूको सफल कार्यान्वयन गर्दै अघि बढ्यो । जनयुद्ध जब विजयका शृङ्खलाहरू पार गर्दै अघि बढ्यो स्वयम्ले पैदा गरेका असाधारण तर स्वाभाविक चुनौतीहरू सतहमा देखापर्न थाले । दरबार हत्याकाण्ड (२०५८ जेठ १९) त्यस्तै एक अकल्पित परिघटना थियो । दरबार हत्याकाण्डपछि देशमा नयाँ राजनीतिक ध्रुवीकरणको वातावरण उत्पन्न भयो । दरबार हत्याकाण्डले जनयुद्धको दायरा झन् फराकिलो भयो । सैन्य–राजनीतिक दुवै दृष्टिले साम्राज्यवाद (मुख्यतः भारत) र जनयुद्ध अब आमने–सामने टक्करको स्थितिमा उभिन पुगे जसको परिणाम एउटै लडाइँमा जनमुक्ति सेना र शाही नेपाली सेनाको मानवीय क्षति ५० औँ र कहिलेकहीँ त १०० औँ को सङ्ख्यामा बढ्न थाल्यो । शाही नेपाली सेनाले जनमुक्ति सेनाको आक्रमणबाट बच्न बलियो किल्लाबन्दी निर्माणको रक्षात्मक रणनीति अपनाउन थाल्यो । तत्पश्चात् बाहिरी पङ्क्तिका लडाइँहरूमा जनमुक्ति सेनाले शाही नेपाली सेनालाई पराजित गरे पनि किल्लाबन्दीको लडाइँमा जनमुक्ति सेना अपेक्षाकृत सफल हुन सकिरहेको थिएन भने उता शाही नेपाली सेनाले किल्लाबन्दीमा जेनतेन आफ्नो सुरक्षा गर्न सके पनि बाहिरी पङ्क्तिमा ठूलो पराजय बेहोर्नु परिरहेको थियो । त्यस बेला माओवादी पार्टीले आफ्नो सैन्य रणनीतिमा अझ परिष्कार ल्याउनुपर्ने हुन जान्थ्यो तर तत्कालीन नेतृत्वले त्यसलाई कुशलतापूर्वक सामना गर्न सकेन, बरु उल्टो चुनौतीसामु घुँडा टेक्न सुरु गर्यो र बिस्तारै आत्मसमर्पणको बाटो तय भयो । त्यही यात्राले अन्ततः जनयुद्धलाई विघटनको भुमरीमा धकेलिदियो ।

    कथित लोकतान्त्रिक गणतन्त्रको दक्षिणपन्थी आहालमा जब मुख्य नेतृत्वलगायत माओवादी आन्दोलनको ठूलो पङ्क्ति डुब्न पुग्यो, त्यसबाट विद्रोह गरेको एउटा पङ्क्तिले माओवादी आन्दोलन पुनर्गठनको पहल गर्यो । कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा उक्त पुनर्गठन भयो । पुनर्गठित पार्टीले महाधिवेशन गरेर ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा संश्लेषण गर्यो । तर पार्टी पुनर्गठनको एक वर्ष पूरा भइसक्दा पनि क्रान्तिको ठोस पहलकदमी कसरी गर्ने ? भन्नेमा क्रमशः अन्योल र अकर्मण्यता बढ्दै जान थाल्यो । केन्द्रीय समितिको एउटा हिस्साले विद्रोहलाई मुख्य बनाउने र अर्को हिस्साले जनयुद्धलाई मुख्य बनाएर बहस गर्ने स्थिति सुरु भयो ।

    एकीकृत जनक्रान्तिको संश्लेषण

    कमसेकम फ्युजनको परिभाषा गर्दा ‘उत्पीडित देशहरूका लागि दीर्घकालीन जनयुद्धकै बाटो अवलम्बन गर्न अनिवार्य छ’ भनिएको थियो जब कि जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशाले कुनै पनि प्रस्टता दिन सकेन, न त आधारभूत रूपले दीर्घकालीन जनयुद्ध हो भनियो न अल्पकालीन विद्रोह नै । यी दुवैभन्दा फरक रणनीति हो भने त्यसको मोटामोटी स्वरूप कस्तो हुने ? भन्ने पनि स्पष्ट भएन । जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई एकाथरी कमरेडहरूले संसदीय व्यवस्थामै सहकार्यको सिँढी बनाउन खोजेको करिब सतहमै देखिन थाल्यो । यद्यपि तर्क गर्दा उनीहरूले जनविद्रोहलाई नै बढी जोड दिएर बहस गर्ने गर्थे तर उनीहरूको जनविद्रोह सुदूर भविष्यका लागि माात्र थियो । उनीहरू जनयुद्धको ‘ज’ सम्म उच्चारण गर्न रुचाउँदैनथे । जनयुद्ध भनेको हठात् युद्धमा हामफाल्नु हो भन्ने उनीहरूको कमजोर बुझाइ थियो । जनयुद्ध भनेर तत्कालका लागि जोखिम उठाउनुभन्दा पचासौँ वर्ष भए पनि विद्रोहका लागि पर्खनु उनीहरूका लागि क्रान्तिकारिताको कसौटी थियो । यसर्थ जनयुद्धको जगमा जनविद्रोहको संश्लेषणले जब कुनै ठोस दिशानिर्देश गर्न सकेन पार्टीभित्र बहस पेचिलो बन्दै गयो । जनविद्रोहको ढाल ओढेर जब सुधारवादले नवगठित पार्टीलाई किच्न खोज्यो त्यसलाई पन्छाएर फेरि अर्कोपटक माओवादी आन्दोलनको पुनर्गठन भयो । त्यसको नेतृत्व कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ ले गर्नुभयो । तत्पश्चात् नै नेपाली क्रान्तिको कार्यदिशालाई ‘एकीकृत जनक्रान्ति’ का नाममा नयाँ संश्लेषण गरियो जसको सैन्य रणनीतिलाई ‘एकीकृत सैन्य रणनीति’ भनियो ।

    एकीकृत सैन्य रणनीति ‘फ्युजन’ वा ‘जनयुद्धको जगमा जनविद्रोह’ दुवै होईन । एकीकृत जनक्रान्तिलाई ‘फ्युजन’ का रूपमा मात्र बुझियो भने यो ‘आधारभूत रूपले दीर्घकालीन जनयुद्ध’ नै हुनेछ । यद्यपि हिजो फ्युजन आधारभूत रूपले दीर्घकालीन जनयुद्ध नै थियो र त्यो सही पनि थियो । तर आज त्यो अपूर्ण भइसकेको छ । अर्कोतिर एकीकृत जनक्रान्तिलाई ‘जनयुद्धको जगमा जनविद्रोह’ कै रूपमा बुझियो भने त्यो झन् न त आधारभूत रूपले दीर्घकालीन जनयुद्ध हुनेछ न अल्पकालीन जनविद्रोह नै । एकीकृत जनक्रान्ति जनयुद्ध पक्कै हो तर यो दीर्घकालीन जनयुद्ध होइन । एकीकृत जनक्रान्ति विद्रोह पनि हो तर यो परम्परागत विद्रोह पनि होइन । एकीकृत जनक्रान्ति विद्रोहसहितको जनयुद्ध हो । यो जनयुद्धसहितको विद्रोह पनि हो अर्थात् यो विद्रोहात्मक जनयुद्ध हो ।

    हरेक क्रान्तिको सञ्चालन मुख्यतः कम्युनिस्ट पार्टीको आत्मगत अवस्थाका आधारमा हुने गर्दछ । आत्मगत अवस्था सुदृढ छ भने त्यो बेला विकासोन्मुख वा विकसित कुनै पनि देशमा क्रान्तिको सञ्चालन बिल्कुल सम्भव हुन्छ तर कम्युनिस्ट पार्टीको आत्मगत अवस्था सुदृढ छैन भने विकसित वा विकासोन्मुख कुनै पनि देशमा सयौँ वर्ष पर्खेर पनि न विद्रोह न त दीर्घलालीन जनयुद्ध केही पनि सम्भव हुँदैन ।

    कम्युनिस्ट पार्टीले सर्वहारा आन्दोलनलाई ‘रणनीतिक श्रेष्ठता’ अन्तर्गत सञ्चालन गर्ने वा ‘कार्यनीतिक श्रेष्ठता’ अन्तर्गत सञ्चालन गर्ने भन्ने विषय मूलतः वस्तुस्थितिको सापेक्षतामा रहेर निर्धारण गर्नुपर्ने भएपछि विकसित देशमा गरिने क्रान्ति रणनीतिक श्रेष्ठताअन्तर्गत मात्र सञ्चालन गरिनुपर्छ भन्नु तथा विकासोन्मुख देशहरूमा गरिने क्रान्ति कार्यनीतिक श्रेष्ठताअन्तर्गत मात्र सञ्चालन गरिनुपर्छ भन्नु अब रूढिवाद हुन्छ । आजको विश्वपरिवेशमा कुनै देश विकासोन्मुख वा विकसित हुनुले मात्र रक्षात्मक वा आक्रामक रणनीतिको निर्धारण हुँदैन । रक्षा र आक्रमण मूलतः आत्मगत स्थितिमा निर्भर गर्दछ । विकासोन्मुख देशको कम्युनिस्ट पार्टीको आत्मगत अवस्था सुदृढ छ भने त्यहाँको क्रान्ति आक्रमणको रणनीतिअन्तर्गत सञ्चालन गर्न सम्भव हुन्छ जब कि विकसित नै भए पनि त्यो देशको कम्युनिस्ट पार्टीको आत्मगत अवस्था कमजोर छ भने त्यहाँको क्रान्ति रक्षात्मक रणनीतिअन्तर्गत सञ्चालन गर्नुपर्ने हुन सक्छ भन्ने कुरालाई पनि अब बोध गर्न जरुरी छ । अतः रक्षा र आक्रमणलाई कम्युनिस्ट पार्टीको आत्मगत अवस्थाका आधारमा परिचालन गर्नु एकीकृत सैन्य रणनीतिको आधारभूत मान्यता हो । यसो हुनुको पहिलो वस्तुगत कारण के हो भने आजको किसान वा मजदुर वर्ग विगतको जस्तो छैन । एउटा किसान ऊ अब भूदास नभएर अर्धबेरोजगार वा अर्धमजदुर बन्न गएको छ । मजदुर वर्ग पनि प्रविधिको विकासका कारण कारखानामा होइन, सडकमा ज्यादा छ । श्रमको अन्तर्राष्ट्रियकरण भएको छ । पुँजीको विश्वव्यापीकरण भएको छ । पुँजीपति वर्गका लागि कुनै पनि देशबाट श्रमशक्ति किन्न सजिलै सम्भव छ ।

    एकीकृत जनक्रान्तिका वस्तुगत तत्वहरू

    १. विज्ञान–प्रविधिको विकास

    आजको युग विज्ञान–प्रविधिको युग हो । विज्ञानले एकपछि अर्को चामत्कारिक विकासहरू गरिरहेको छ । कतिसम्म भने मानिसभन्दा धेरै सोच्न सक्ने कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को निर्माण सम्भव भएको छ । प्रविधिको विकासले सैन्य रणनीतिमा समेत निकै धेरै प्रभाव पार्दछ । यसले सेना परिचालनको तरिका र लडाइँको संरचनालाई निकै हेरफेर गरिदिन्छ । यो कुरा आज मात्र भएको भन्ने कदापि होइन । समाज विकासका नयाँनयाँ चरणहरूमा यस्तो हुँदै आइरहेको छ । यसर्थ प्रत्येक नयाँ चरणहरूमा लडाइँका पुराना सिद्धान्तहरूमा पुनर्विचार गर्नु आवश्यक भइरहन्छ । नयाँ सिद्धान्तहरू, रणनीति र कार्यनीतिहरूको विकास आवश्यक हुन्छ जुन आजको सन्दर्भमा झन् धेरै आवश्यक छ ।

    विज्ञानप्रविधिको आजको मुख्य विशेषता भनेको सूचनाप्रविधि र यातायातमा विकास हो । सूचनाप्रविधिको विकासले आजको संसारलाई निकै धेरै संकेन्द्रित गरिदिएको छ । सैन्य रणनीतिमा यसको प्रभाव भनेको गतिमा तीव्रता हो । यसले सैन्य रणनीति र कार्यनीतिहरूमा निकै हेरफेर ल्याइदिएको छ । त्यसैले नै हो गाउँ र सहर तथा विभिन्न इलाकाहरू पहिलेभन्दा झन् एकअर्कामा निकै नजिक भएका छन् । यसर्थ गाउँमा मात्र लड्ने वा सहरमा मात्र लड्ने तरिका, रक्षात्मक रणनीतिमा मात्र लड्ने वा आक्रामक रणनीतिमा मात्र लड्ने तरिका फेर्न जरुरी छ । तर विज्ञानप्रविधिको यो विकासले क्रान्ति असम्भव भयो भन्नुचाहिँ संशोधनवाद हो । आत्मसुरक्षावाद हो । त्यसको भण्डाफोर पनि उत्तिकै जरुरी छ ।

    २. बहुध्रुवीय विश्व

    शीतयुद्धको समाप्तिसँगै अमेरिकी नेतृत्वमा सुरु भएको एकध्रुवीय विश्वव्यवस्था आज करिब समाप्त भएको छ । यो विगत जनयुद्धको बेलाभन्दा नितान्तै नयाँ विशेषता हो । आजको विश्व बहुध्रुवमा विभाजित भएको छ । अमेरिका, रुस र चीन विश्व महाशक्तिका तीन प्रमुख प्रतिस्पर्धीहरू हुन् । यसका अलावा युरोपेली युनियन, बेलायत, भारतलगायत मुलुकहरू पनि विश्व–महाशक्तिको होडमा आफूलाई दाबी गर्न उद्यत देश हुन् । यसले विश्वको शक्ति सन्तुलनमा ठूलो हेरफेर गरेको छ । यो बेला सैन्य आक्रमणसहित विश्वयुद्धको सम्भावना नभए पनि साम्राज्यवादी तथा शक्ति राष्ट्रहरूबीचको अन्तरविरोध निकै पेचिलो बन्दै गएको छ । भलै त्यसको स्वरूप भने मूलतः व्यापार युद्ध बन्न गएको छ । यसले हरेक देशमा क्रान्तिको सम्भावनालाई निकट गरिदिएको छ ।

    ३. पुँजीको चरम एकाधिकार

    आजको विश्व–पुँजीवाद चरम एकाधिकारमा विकसित भएको छ । केही निश्चित धनी व्यक्तिहरू र केही निश्चित धनी संस्था (निगम) हरूले संसारको पुँजी नियन्त्रण र परिचालन गरिरहेका छन् । उनीहरूले नै विश्व–राजनीतिको नेतृत्व गरिरहेका छन् । संसारका जम्मा एक प्रतिशत धनीहरूको स्वामित्वमा संसारभरिकै सम्पत्तिको आधा हिस्सा केन्द्रित भएको छ । यसले गरिबी, बेरोजगारी, भ्रष्टाचार र महँगीलाई निकै तीव्रतर बढाइरहेको छ । विकासोन्मुख देशहरूले यसको चरम मार खेपिरहेका छन् । निगम पुँजीवादको अर्को विशेषता भनेको पुँजी र श्रमको विश्वव्यापीकरण हो । आज विश्वको कुनै पनि धनी व्यक्तिले हरकुनै मुलुकमा सहजै पुँजी लगानी गर्न सक्छ । कुनै पनि देशको श्रमशक्ति हरकुनै देशमा खपत गर्न सम्भव छ । पुँजीको एकाधिकारले आफ्नो प्रगतिशील (प्रतिस्पर्धा चरित्रलाई उहिल्यै समाप्त बनाइदिएको थियो, बरु आजको चरम एकाधिकारले राष्ट्रिय चरित्रलाई समेत समाप्त पार्दैछ । आजका मजदुरहरू एकै देशमा वा एउटै उद्योगमा केन्द्रित छैनन् । बहुराष्ट्रिय कम्पनीका नाममा एउटै उद्योगका विभिन्न शाखाहरू संसारका कैयौँ देशहरूमा खोलिएका छन् । यसले मजदुर आन्दोलनको विगत चरित्रलाई निकै फेरिदिएको छ । मजदुर आन्दोलनलाई विकेन्द्रित गरिदिएको छ । पुँजीको चरम संकेन्द्रण र श्रमको व्यापक विकेन्द्रीकरण आजको विश्व–अर्थव्यवस्थाको मुख्य विशेषता बनेको छ । यसले सर्वहारा क्रान्तिको विगत रणनीतिलाई अपुग बनाइदिएको छ । नयाँ रणनीतिको संश्लेषणलाई अनिवार्य बनाइदिएको छ ।

    ४. मध्यम वर्गको विस्तार

    मध्यम वर्गको विस्तार आजको विश्वको अर्को विशेषता हो । पुँजीको राष्ट्रिय चरित्र समाप्त हुँदै जाँदा राष्ट्रिय पुँजीपति वर्गको अस्तित्व पनि समाप्त हुँदै गएको छ । एकाधिकारको प्रतिस्पर्धामा पराजित पुँजीपति वर्गको एउटा हिस्सा तथा विज्ञान र प्रविधिको मद्दतमा आफ्नो सीप प्रयोग गरेर केही पुँजी आर्जन गर्न सफल समाजको अर्को हिस्सा मध्यम वर्गको दायरामा केन्द्रित भइरहेको छ । यो वर्गको विकास विश्वव्यापी बढिरहेको छ । तर यो वर्गले आफ्नो अस्तित्व सङ्कटको रक्षा आफैँले गर्न सम्भव भने छैन । आफ्नो अस्तित्व रक्षाका लागि बर्बर एकाधिकारको विरोध गर्नु यसको बाध्यता हो । मजदुर र किसानको अस्तित्वसँग मात्र आफ्नो अस्तित्व सुरक्षित हुने भएकाले यो वर्ग सर्वहारा क्रान्तिको मित्रशक्तिको घेरामा आइपुगेको छ ।

    ५. राष्ट्रियताको भावना

    विकासोन्मुख देशहरूमा त्यसै पनि राष्ट्रियताको भावना प्रबल नै हुने गर्दछ । साम्राज्यवादी शोषण र उत्पीडनका विरुद्ध विकासोन्मुख देशहरूले राष्ट्रिय मुक्तिको क्रान्ति लड्न अनिवार्य नै हुने गर्दछ । तर साम्राज्यवादी एकाधिकारी गुटहरूबीच तीव्र प्रतिस्पर्धा बढिरहेको बेला विकसित देशहरूमा समेत ‘राष्ट्रवाद’ जन्मिने र जन्माइने गरिन्छ । आफूलाई विकासशील देशको पहिलो पङ्क्तिमा राखेका देशहरूले समेत आज ‘राष्ट्रवाद’ को चर्को नारा उचालिरहेका छन् । जसरी जर्मनीले दोस्रो विश्वयुद्धमा राष्ट्रवादकै नाराले आफूलाई सुदृढ गरेको थियो, त्यसैगरी आजका महाशक्ति राष्ट्रहरू– अमेरिका, रुस र चीनले समेत चर्को राष्ट्रवादको नारा लगाएर आफूलाई सुदृढ गर्नतिर लागिरहेका छन् । जस्तो कि अमेरिकी राष्ट्रवादको नारा रहेको छ– ‘अमेरिका मेक फस्र्ट अगेन’ । चिनियाँहरूको– ‘ लाल चीन’ । रसियनहरूको–

    ‘फरवार्ड रसिया’ । तथाकथित राष्ट्रवादले जातीय र क्षेत्रीय पृथकतावादको समेत जन्म गराउँछ । जातीय र क्षेत्रीय उत्पीडनलाई वर्गसङ्घर्षबाट अलग गरी अतिवादको वृक्षरोपण गर्नु यसको उद्देश्य रहन्छ । इतिहासको कटु अनुभव के रहेको छ भने कथित राष्ट्रवादले फासिवादको जन्म दिन्छ भने सच्चा राष्ट्रवादले स्वाधीनता र स्वतन्त्रता जन्माउँछ । आजको आवश्यकता सच्चा राष्ट्रवादको हो ।

    ६. मिश्रित सामाजिक बसोबास

    तीव्र सहरीकरण, व्यापारीकरण र श्रमको विश्वव्यापीकरणले संसारभरिको सामजिक अन्तरघुलनलाई निकै तीव्र बनाइदिएको छ । पुराना सामाजिक सम्बन्धहरू क्रमशः भत्किँदै गएका छन् । नयाँ सामाजिक सम्बन्धहरू स्थापित बन्दै गएका छन् । यो अवस्थाले जातीय र क्षेत्रीय सीमाहरूलाई समेत जबर्जस्ती उखेलेर फ्याँक्दैछ । एक अर्थमा यो एक नयाँ समाजको युग हो । यसो गर्नु विश्व–पुँजीवादको बाध्यता हो । किनकि यसो नगर्ने हो भने साम्राज्यवादले आफ्नो व्यापार र उद्योग टिकाउन पनि सक्दैन । तर अर्कोतिर यो नै यस्तो प्रक्रिया हो जसले विश्व मानव जातिलाई जाति, क्षेत्र र समुदाय विशेष विकेन्द्रित नगरेर वर्गविशेषमा केन्द्रित गरिरहेको छ । वर्गअन्तरविरोध तीव्र बन्नु साम्राज्यवादको पराजय हो । साम्राज्यवादको पराजय सर्वहारा क्रान्तिको विजय हो । अन्ततः साम्यवादको विजय हो ।

    एकीकृत जनक्रान्तिका सैन्य विशेषताहरू

    १. जनसङ्घर्ष र फौजी सङ्घर्षबीच तालमेल

    जनतालाई क्रान्तिकारी युद्धमा व्यापक सहभागी गराउनु सर्वहारा फौजी रणनीतिको आधारभूत विशेषता हो । तर जनता उति सजिलै सङ्घर्षको मैदानमा उत्रिँदैनन् । त्यसका लागि सर्वहारा क्रान्तिलाई जति सक्यो जनसङ्घर्षका रूपमा सञ्चालन गर्नु आजको महत्वपूर्ण आवश्यकता हो । जनसङ्घर्षको व्यापकता र उच्चता नै फौजी सङ्घर्षको प्रस्थानबिन्दु हो । अतः फौजी सङ्घर्षलाई जनसङ्घर्षका रूपमा सञ्चालन गर्नु र जनसङ्घर्षलाई फौजी सङ्घर्षमा विकास गर्नु एकीकृत सैन्य रणनीतिको विशेषता हो ।

    २. उच्च प्रविधि र निम्न प्रविधिबीच तालमेल

    हुनत प्रत्येक नयाँ प्रविधिको विकास सामान्यतः श्रमजीवी वर्ग स्वयम्ले गर्दछ । तर त्यसको स्वामित्व भने उसको हातमा कहिल्यै रहँदैन । किनकि पुँजीपति वर्गले त्यसको ‘पेटेन्ट राइट’ तुरुन्त खरिद गर्दछ र त्यसको स्वामित्व आफ्नो हातमा लिन्छ । त्यसकै परिणाम हो श्रमजीवी वर्गको विद्रोहमा सुरुआतमै उच्च प्रविधि सम्भव हुँदैन । तर आन्दोलनको विकास र उच्चताले त्यसलाई पनि क्रमशः नजिक ल्याउन थाल्छ र एउटा निश्चित बिन्दुमा पुगेपछि श्रमजीवी वर्ग उच्च प्रविधियुक्त बन्दछ । अतः सुरुमै उच्च प्रविधि क्रान्तिको सर्त हुनु हुँदैन । अझ भन्ने हो भने जति सक्यो निम्न प्रविधिबाटै आफूलाई सज्जित गर्नु सर्वहारा सैन्य रणनीतिको बाध्यात्मक अनिवार्यता हुन जान्छ । यसको एउटा निकै सकारात्मक पाटो के हो भने युद्धको आधारभूत पहलकदमी श्रमजीवी वर्गको हातबाट गुम्दैन । अर्कोतिर आम सशस्त्रीकरणलाई समेत यसले सजिलो बनाउँछ । तर क्रान्तिको सुरुदेखि नै उच्च प्रविधिको सम्भावनालाई जोडिराख्नु आवश्यक हुन्छ । यसको महत्वलाई कुनै पनि हालतमा कमजोर गर्नु हुँदैन । विज्ञान र प्रविधिको उच्चतम विकास भइरहेको आजको युगमा उच्च प्रविधिलाई सुरुदेखि नै जोड्न सम्भव पनि छ । अतः निम्न र उच्च प्रविधिबीचको उचित तालमेल सर्वहारा वर्गीय युद्धको आधारभूत विशेषता हो ।

    ३. मोर्चाबद्ध र छापामार युद्धको तालमेल

    युद्धको सामान्य इतिहासले के बताउँछ भने मानव जातिले लड्ने आधारभूत युद्धको स्वरूप भनेको छापामार र मोर्चाबद्ध युद्ध नै हुन् । यी दुईबीचको अन्तरसम्बन्ध एकदमै अन्योन्याश्रित रहेको छ । यद्यपि लडाइँको निश्चित मैदानमा भने यी दुईमध्ये जब कुनै एक नेतृत्वदायी स्थानमा रहन्छ भने अर्को सहयोगी स्थानमा । तर समग्र युद्धमा यी दुईबीच माटो र ढुङ्गाको जस्तै सम्बन्ध हुन्छ । छापामार युद्धबाट मोर्चाबद्ध युद्धलाई अलग गर्नु र मोर्चाबद्ध युद्धबाट छापामार युद्धलाई अलग गर्नु बिल्कुल असम्भव कुरा हो । जहाँसम्म चलायमान युद्धलाई पनि लडाइँको अर्को एउटा स्वरूप मान्ने गरिन्छ । त्यो यी दुई युद्धको गतिशीलता मात्र हो किनकि मोर्चाबद्ध वा छापामार युद्धमध्ये कुनै एकले अनिवार्य चलायमान युद्धलाई नेतृत्व गरेको हुनुपर्छ । अन्यथा चलायमान युद्ध भन्ने नै रहँदैन ।

    ४. नियमित र अनियमित सेनाको तालमेल

    आजको युद्ध नियमित सेनाको क्षेत्रमा मात्र सीमित छैन । युद्धको क्षेत्र निकै फराकिलो बनेको छ । यसर्थ यो बृहत् क्षेत्रको मोर्चा केवल नियमित सेनाको पङ्क्तिले मात्र समाल्न असम्भव छ । त्यसका लागि अनियमित सेनाको गठन र परिचालन आजको युद्धको प्रमुख आवश्यकता हो । हुनत विगत युद्धमा पनि विभिन्न प्रकारका अनियमित सेनाहरूको गठन र परिचालन हुने गरेका तमाम इतिहासहरू रहेका छन् तर आजको विश्वमा अनियमित सेनालाई विशेष सङ्गठन र विशेष परिचालनअन्तर्गत समग्र युद्धमा जोड्न अति आवश्यक छ ।

    ५. पुरानो सुरक्षा निकायमा विघटन

    सामान्यतः युद्ध आफ्नो सेनाले मात्र लडेर जित्न सम्भव हुँदैन । विजयी युद्ध त्यो मात्र हुन सक्छ जसले विपक्षी सेनामा विघटन पैदा गर्न र सके आफ्नो पक्षमा लडाउने क्षमता राख्दछ । सर्वहारा वर्गीय युद्ध आफैँमा त्यस्तो युद्ध हो जसले आफ्ना प्रतिनिधिहरू जता खोज्दा पनि ती सजिलै भेटिन्छन् । पुरानो सत्ता र उसको सुरक्षा संयन्त्रभित्र सर्वहारा वर्गका प्रतिनिधिहरू तमाम रहेका छन् । उनीहरूलाई आफ्नो वर्गप्रति सजग गराउनु कम्युनिस्ट पार्टीको दायित्व हो ।

    एकीकृत सैन्य रणनीतिमा आधारइलाकाको प्रश्न

    आधारइलाकाको राजनीतिक परिभाषा भनेको कम्युनिस्ट पार्टीको व्यापक प्रभाव भएका क्षेत्रहरू हुन् । जहाँ कम्युनिस्ट पार्टीले घोषित वा अघोषित आफ्नो सत्ता सञ्चालन गरेको हुन्छ । फौजी दृष्टिबाट विश्लेषण गर्दा आधारइलाका लडाइँको तयारी र विश्रामको स्थान हो । कुनै पनि सेनालाई लडाइँको विजयका लागि राम्रो तयारीको समय चाहिन्छ । लडाइँपश्चात् सेनालाई पुनर्ताजगीका लागि विश्रामको समय चाहिन्छ । तयारी र विश्रामको उचित स्थान नै आधारइलाका अर्थात् रणनीतिक इलाका हो । विगत सर्वहारा वर्गको युद्ध अनुभवलाई हेर्दा चिनियाँ क्रान्तिमा माओले स्थानीय सत्ता सञ्चालन गरेर आफ्नो नियन्त्रणमा राखेका ग्रामीण इलाकाहरूलाई आधारइलाकाका रूपमा परिभाषा गरेको पाइन्छ । लेनिनले मजदुर र किसानका सोभियतहरूलाई युद्धको रणनीतिक अड्डाका रूपमा विकास गरेको पाइन्छ । ती अर्को अर्थमा आधारइलाका नै थिए । यसर्थ चीनको सन्दर्भमा सुदूर गाउँहरू आधारइलाका बनाइए भने रुसमा सहरका मजदुर बस्तीहरू आधारइलाकाका रूपमा रहेका थिए ।

    माओले आधारइलाका निर्माणका तीनवटा तरिका बताएका छन् : पहिलो, बलियो जनाधार निर्माण गरेर; दोस्रो, दुस्मनका कमजोर इलाका कब्जा गरेर । तेस्रो, दुस्मनबाट विद्रोह गराएर । यस्ताखाले आधारइलाका अर्थात् रणनीतिक इलाकाहरू आज पनि आवश्यक हुन्छन् किनकि हामीले पहिल्यै भनिसक्यौँ– लडाइँको विश्रामका लागि मात्र नभएर लडाइँको तयारीका लागिसमेत रणनीतिक इलाका जरुरी हुन्छ । सहर र गाउँ, पहाड र तराई सबै ठाउँमा रणनीतिक इलाकाहरूको निर्माण सम्भव र आवश्यक छ । आजको सन्दर्भमा गाउँ र पहाडमा मात्र वा सहर र तराईमा मात्र रणनीतिक इलाका निर्माणको एकाङ्गी नीतिले युद्धलाई नचाहेर पनि रूढिवादतिर धकेलिदिन्छ । अतः युद्धको सञ्चालन र परिचालनका लागि निश्चित रणनीतिक इलाकाहरूलाई योजनाबद्ध विकास गर्नु एकीकृत सैन्य रणनीतिको विशेषता हो ।

    निष्कर्ष

    माक्र्सवाद आफैँमा बृहत् एकीकरणको सिद्धान्त हो । यो मूलभूत रूपमा भौतिकवाद र द्वन्द्ववादको एकीकरण हो । यो प्रकृति र मानव समाजको एकीकरण हो । यो पदार्थ र चेतनाको एकीकरण हो । यो विज्ञान र दर्शनको एकीकरण हो । यो समाज विकासका क्रममा विकसित विभिन्न क्रान्तिकारी सिद्धान्तहरूको समेत एकीकृत स्वरूप हो । यो राष्ट्रिय मुक्तियुद्ध र सर्वहारा युद्धको एकीकरण हो । अतः आजको युगमा एकीकृत सिद्धान्तलाई जीवनदर्शनका रूपमा लागू गर्नु माक्र्सवादको विकसित आवश्यकता हो । यसर्थ एकीकृत सैन्य रणनीति नेपाली समाजको आमूल रूपान्तरणका लागि एक रचनात्मक सैन्य पहलकदमी हो ।

    • लेखक दिपक तत्कालिन जनमुक्‍ति सेनाका डिभिजन सहकमाण्डर समेत थिए र हाल नेकपाका केन्द्रीय सदस्य हुन् ।
    प्रतिकृया दिनुहोस्