News Portal

  • अठारौँ नाम सम्मेलन शुरु, प्रधानमन्त्री ओली पूर्ण सत्रलाई सम्बोधन गर्ने

    २३८ पटक

    काठमाडौं । आजबाट असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८ औँ शिखर सम्मेलन शुरु भएको छ ।

    बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उदघाटन रहेको थियो । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनहरुका प्रतिनिधिहरु सहभागिता हुँदैछन् ।

    सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल हिजो अबेर राति कतारको दोहा हुँदै कतार एयरको नियमित उडानमार्फत त्यहाँ पुगेको हो ।

    प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छिन् । उनको नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश छन् ।

    प्रधानमन्त्री ओलीले औपचारिक उदघाटनपछि नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने छन् ।

    प्रतिकृया दिनुहोस्