News Portal

  • काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन जित्यो ७ लाख

    ३५६ पटक

    काठमाडौं । पहिलो संस्करणको ‘फ्रेन्चाइज’ महिला टी-२० वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा ११२ रन बनायो ।

    सुमन खतिवडाले सर्वाधिक २९ रन बनाएको इनिङ्समा कप्तान इन्दु वर्माले १९ बलमा अविजित रहँदै २२ रन जोडिन् । जवाफमा काठमाडौंले २० ओभरमा ‘अलआउट’ हुँदै ६७ रन बनायो ।

    अप्सरी बेगमले सर्वाधिक १५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा चितवनकी ‘अलराउन्डर’ सुमनले ११ रन खर्चेर ३ तथा रितु कनौजियाले ७ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावलले २ विकेट झारिन् । चितवनले काठमाडौंलाई लिग चरणमा ५ विकेटले हराएको थियो ।

    अपराजित रहँदै उपाधि जितेको चितवनले ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाखमा चित्त बुझायो । काठमाडौंकी कप्तान रुबिना क्षेत्री ‘प्लेयर अफ द सिरिज’ बनिन् । उनले टीभीएसको एउटा स्कुटर र ५० हजार रुपैयाँ पाएकी छिन् ।

    चितवनकी काजल श्रेष्ठ उत्कृष्ट ब्याटर र चितवनकै कविता गौतम उत्कृष्ट बलर घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ पाए । ५ टोलीले सहभागिता जनाएको प्रतियोगितामा विराटनगर टाइटान्स तेस्रो, पोखरा पल्टन चौथो तथा ललितपुर फाल्कोन्स पुछारमा थियो ।

    प्रतिकृया दिनुहोस्