News Portal

  • लिलाराज गौतमलाई अमेरिकाबाट नेपाल ल्याइयो

    २३७ पटक

    काठमाडौं । एक किशोरीमाथि सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गर्ने अभियुक्तलाई नेपाल प्रहरीले अमेरिकाबाट ल्याएको छ ।

    झापा स्थायी घर भएका ४२ वर्षिय लिलाराज गौतमलाई नेपाल प्रहरीले अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याएको हो । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) र अमेरिकी प्रहरीको सहयोगमा उनलाई अमेरिकाबाट डिपोर्ट गराई नेपाल ल्याइएको हो ।

    उनलाई इन्टरपोल शाखाका प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गौतमसहित मनोज खड्का र सीताराम बस्नेत मिलेर २९ असोज २०५७ मा झापा चन्द्रगढी-३ की सन्ध्या राजबंशीलाई सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गरेका थिए ।

    घटना खुल्ने डरले युवतीले आत्महत्या गरेको देखाउन उनीहरुले झुन्डाएर हत्या गरेका थिए । त्यसयता फरार रहेका गौतम अमेरिकामा रहेको खुलेपछि नेपाल प्रहरीले उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो ।

    सोहीअनुसार १३ फेब्रुअरी २०१८ मा उनलाई अमेरिकाको होमल्याण्ड सेक्युरिटीले पक्राउ गरेको थियो । करिब २ वर्ष लामो प्रयासपछि उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्