News Portal

  • रास्कोटमा (नेकपा)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

    ४७९ पटक

    कालिकोट। कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बिजयादशमी तथा शुभ दिपावलीको अवसरमा नेपाल कम्युनिस्ट पार्टी रास्कोट नगर कमिटीले मङ्गलबार कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा कालिकोटका जिल्ला अध्यक्ष धनजित शाही(आदर्श)ले ‘समृद्ध नेपाल सुखि नेपाली’को राष्ट्रिय अभियानमा सिंगो पार्टी पंक्ति अघि बढ्नुपर्ने धारणा राखे । चाँडपर्वलाई सामाजिक सद्भाव स्थापना गर्ने, जन सम्बन्ध सुधार गर्ने अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताउदै नेता आदर्शले जनताका हरेक बिषयसँग जोडिएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए । समाजमा बेलाबेला देखापर्ने भड्किला संस्कृतिबाट कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता टाढा रहनुपर्ने उनको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतले कालिकोटको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपरेको बताए । जनताले आफुप्रति गरेको विश्वास कुनै पनि हिसाबले टुट्न नदिने प्रतिबद्धता जनाउदै उनले जिल्लाको समग्र बिकासमा साथ दिन सबैलाई अपिल गरे ।

    शुभकामना कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य जीवन बुढाले यस्ता कार्यक्रमले जनता र राजनीतिक नेताकार्यकर्ता बिच सुमधुर सम्बन्ध निर्माण गर्ने विस्वास व्यक्त गरे । कम्युनिस्ट पार्टी र सरकारका हरेक निति तथा कार्यक्रम जनताका सवालसँग जोडिनुपर्ने उनको धारणा थियो । त्यस्तै अर्का राष्ट्रिय सभा सदस्य नरपती सुनारले रास्कोटको पार्टीले नयाँ संस्कारको सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सुझाव दिए ।

    नेकपा रास्कोट नगरपालिकाका अध्यक्ष धर्मराज शाही ‘पोषण’ले पार्टी नेताकार्यकर्ता र जनता बिचको सम्बन्ध नयाँ उचाइमा उठाउन शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । आफुहरु जनताको सुख-दुःख संगै हुर्किएको स्मरण गर्दै अध्यक्ष पोषणले कम्युनिस्ट पार्टीका गतिविधिहरु जनताको दैनिकीसँग जोडिएर सञ्चालन गरिनुपर्ने धारणा राखे । बदलिँदो परिस्थितिमा समयानुकूल नयाँ सामाजिक, राजनीतिक मूल्य मान्यता स्थापित गर्ने उद्देश्यले चियापान कार्यक्रमको आयोजना गरिएको बताउँदै उनले आगामी बर्षहरुमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा नेकपा जिल्ला सचीव नगिन्द्र शाही ‘नेशनल’,नेकपा कर्णाली प्रदेश कमिटी सदस्य लक्ष्मीप्रसाद चौलागाईं ‘शैलेन्द्र’,रास्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बराल, उप-प्रमुख मिमसरा बम (शाही), लगायत विभिन्न पार्टीका स्थानीय नेताकार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजीवी, व्यापारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भर्खरै मात्र विभिन्न सरकारी सेवामा स्थायी बनेका तथा सरुवा भएर रास्कोट नगरपालिका आएका शिक्षक र कर्मचारीहरुलाई सम्मान एवं स्वागत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्