News Portal

  • कुर्मी हत्याका मुख्य सुटर हरिजन पक्राउ

    १८१ पटक

    भैरहवा । ओमसतिया गाउँपालिका-५, पट्खौलीका ४२ वर्षिय महेन्द्रप्रसाद कुर्मीको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको छ ।

    भारत उत्तर प्रदेश गोरखपुर जिल्ला कम्पियरगञ्ज, मछरी गाउँका ४० वर्षिय मनिष हरिजन (चमार) लाई प्रहरीले पक्राउ गरेकोे हो ।

    बुधबार साँझ नेपाल-भारत सीमा क्षेत्रबाट हरिजनलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हेमकुमार थापाले जानकारी दिए । पक्राउ परेका हरिजनलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

    ‘घटनामा संलग्न मुख्य सुटर नै हरिजन हुन् । हामीलाई भारतीय नागरिक भएकाले अनुसन्धान गर्न लामो समय लाग्यो । अन्तत ः एक जना भए पनि पक्राउ गर्न सफल भयौं’ थापाले भने ।

    लु ९ प ८२३५ नं.को मोटरसाइकलमा घरतर्फ जाँदैगर्दा कुर्मीको रोहिणी गाउँपालिका-३ स्थित रोहिणी खोला नजिक बैकुण्ठपुर, हुलाकी सडकखण्डमा भदौ २९ गते गोली हानी हत्या गरिएकोे थियो ।

    भैरहवास्थित हिमालय बैंकबाट ५ लाख रुपैयाँ निकालेर श्रीमती र छोरासहित घरतर्फ जाँदै गर्दा हरिजनसहित मोटरसाइकलमा गएका २ जनाको समूहले हत्या गरी रुपैयाँ लुटेका थिए ।

    प्रहरीले फरार दुई जनाको नाम भने गोप्य राखेको छ । फरार दुबैजना भारतीय नागरिक भएको एसपी थापाको भनाई छ । हरिजनलाई युपी ५३ डीबी ९९८३ नं.को कालो पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

    प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट गठित दुईवटा अनुसन्धान टोलीको लामो समयको प्रयासपछि हरिजनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

    हत्यामा संलग्न हरिजन समूहले भैरहवास्थित एक पसलबाट भारतीय एक नागरिकको आधार कार्ड देखाएर एनसेलको सिमकार्ड समेत कुर्मी हत्याका दिन लिएको अनुसन्धानमा खुलेको छ । उनको समूहले भारतमा पनि विभिन्न लुटपाटका घटना गर्दै आएको थियो ।

    प्रतिकृया दिनुहोस्