आज :

नयाँ सभामुख चयनबारे परामर्श सुरु

काठमाडौं । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले चर्चा पाएको छ ।

नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामा भने बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको छ ।

सङ्घीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए । उनको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गरेकी छिन् ।

संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ । सभामुख वा उपसभामुखमध्ये एक फरक लिङ्गको हुनुपर्ने पनि संवैधानिक व्यवस्था छ । अहिले उपसभामुख तत्कालीन एमालेबाट निर्वाचित डा. शिवमाया तुम्बाहाङ्फे छिन् । यसअघि सभामुखमा माओवादी केन्द्रबाट महरा उम्मेदवार थिए । दुई दल एकीकृत भएपछि विपक्षी दलले पुन ः निर्वाचनको माग गरे पनि सशक्त कार्यसूची भने बनाउन सकेको थिएन ।

अबको समीकरण अनुसार उपसभामुखमा तुम्बाहाङ्फेलेलाई निरन्तरता दिएमा सभामुख नेकपाले पाउने छैन । अन्य दललाई सभामुख दिन नेकपाले नचाहेमा उपसभामुखको राजीनामा अनिवार्य छ । तर, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने पात्र र सभामुख चयनको मितिबारे औपचारिक रूपमा कुनै पनि छलफल नभएको बताए ।

उनले भने,‘‘हामीले भर्खर मात्रै अप्रत्याशित घटना फेस गरेका छौँ । अब सभामुख चयनको प्रक्रिया दलीय सहमतिमा नै अघि बढ्छ । व्यक्तिबारे हामीले कुनै छलफल गरेका छैनौँ । सम्भवत : अब अर्को अधिवेशनमा नै चयन प्रक्रिया अगाडि बढ्छ ।’’ तर, सङ्घीय संसद्को चौथो अधिवेशनमा पारित भएका केही विधेयक प्रमाणीकरणको प्रक्रियामा छन् ।

ती विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुअघि सभामुखले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । सभामुख नहुँदा तत्काल प्रमाणीकरण हुनुपर्ने विधेयक भने अगाडि बढ्न सक्ने अवस्था छैन । यो परिस्थितिअनुसार भने विशेष अधिवेशनबाट पनि सभामुखको चयनको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहन्छ ।

यसैबीच सङ्घीय संसद् सचिवालयले सभामुखबाट महराले दिएको राजीनामा सनाखत गरी रिक्तताको सूचना टाँस गरेको छ । सचिवालय सचिव भरत गौतमले रिक्तताको सूचना जारी गरे । प्रतिनिधिसभा नियमावलीको नियम २११ (२) बमोजिम सूचना जारी गरिएको हो ।

यसैबीच राजीनामाको भाषालाई लिएर आलोचना भएपछि महराले दोस्रो राजीनामापत्र बुझाए । मङ्गलबार साँझ नै दोस्रो पत्र प्रेषित गरिएको हो । दोस्रो राजीनामापत्र सनाखत गरी सचिवालयले सूचना जारी गरेको हो । पहिलो राजीनामामा महराले छानबिन प्रक्रिया नसकिँदासम्म भन्ने शब्द प्रयोग गरेका थिए ।

तर दोस्रोमा ‘छानबिन प्रक्रियाको सहजताका लागि आजैका मितिदेखि’ भन्ने शब्द प्रयोग गरिएको छ । महराले प्रेषित गरेको दोस्रो राजीनामा पत्रमा भनिएको छ, ‘‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु ।’’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal