
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता ओम प्रकाश पुनले वार्ता पार्टीको कार्यसूचीमा नभएको बताएका छन् । उनले प्रति राज्य जिम्मेवार नभएको बताएको सरकारले प्रतिबन्ध र युद्ध घोषणा गरेको भन्दै आफूहरुको वार्ताको एजेण्डा नभएको बताए ।
नेकपाको सेती ब्यूरो इन्चार्ज समेत रहेका पुनले राज्य वार्ताप्रति जिममेवारीपूर्वक पेश नभएको बताए । बाहिर वार्ताको हल्ला गर्ने भित्रभित्र दमनको रणनीति सरकारले दिएको पुनको दाबी छ ।
देश संचारको लागि दिपक जोशीले लिएको अन्तरवार्ताको क्रममा पुनले भने, “वार्ताप्रति राज्य जिम्मेवारीपूर्वक पेश भएको छैन । बाहिर बजारमा हल्ला गर्ने तर भित्र दमन गर्ने रणनीति सरकारको देखिन्छ ।” अन्तरवार्ताको क्रममा पुनले राज्य औपचारिकरुपमा पेश भए वार्ताबाट पछि नहट्ने समेत बताए ।
अन्तरवार्ता
तपाईँको पार्टी र सरकारबीच वार्ता हुने कुराको चर्चा मात्रै भयो, किन भएन वार्ता ?
वार्ताप्रति राज्य जिम्मेवारीपूर्वक पेश भएको छैन। बाहिर बजारमा हल्ला गर्ने तर भित्र दमन गर्ने रणनीति सरकारको देखिन्छ । हामी राज्य औपचारिकरुपमा पेश भए वार्ताबाट पछि नहट्ने भन्नेमा छौँ, तर प्रतिबन्ध र युद्ध सरकारले घोषणा गरेकाले हाम्रो वार्ताको एजेन्डा छैन र हाम्रो चाहनाको विषय पनि हैन । यद्यपि सरकारको जिम्मेवारी भन्दा बाहिर रहेका साथीहरूले आफ्नो ठाउँबाट पहल गरिरहनु भएको छ ।
तपाईँहरुले वार्तामा आउन चाहेको तर सरकारले तपाईँहरुलाई गन्ती पनि नगरेको जस्तो लाग्दैन ?
त्यस्तो हैन । हामीले कहिँ र कहिल्यै पनि वार्ताको कुरा गरेका छैनौँ र वार्ता अहिले हाम्रो पार्टीको कार्यसूचीमा नै छैन। हामी त निरन्तर क्रान्तिको बाटोमा छौँ। बरु चौतर्फी असफलता ब्यहोरेपछि र हाम्रो पार्टी सफल हुँदै गएपछि सरकार आत्तिएर वार्ताको बेमौसमी बाजा बजाउँदै हिँडेको छ, जसलाई हामीले महत्त्व दिएका छैनौँ।
त्यसो भए तपाईँहरुलाई किन सरकारले औपचारिक वार्तामा बोलाएन त ? बोलाएको भए विप्लव खुरुखुरु वार्तामा आउन तयार छन् भन्ने विश्लेषण भइरहेको छ नि ?
यी सबै वाहियात कुरा हो । किनकि हाम्रो स्पष्ट लक्ष्य भनेको अहिलेको दलाल पुँजीवादी व्यवस्थालाई ध्वस्त पारी त्यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्ने हो । हामी यही व्यवस्थामा हिस्सा खोज्ने र हिजो प्रचण्ड र बाबुरामले गरेको जस्तो गद्दारी गर्ने पक्षमा छैनौँ । यो कुरा केपीले नबुझे पनि प्रचण्डले बुझेका छन् । वार्ता षड्यन्त्र हो र यसबाट क्रान्ति हुँदैन भन्ने कुरा हामीलाई प्रष्ट नै छ। त्यसकारण हामीले वार्ताप्रति वास्ता नगरेका हौँ । हाम्रो महासचिव वार्तामा आउन तयार छन् भन्ने कुरा सही होइन ।
नेता कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । यस्तो भइरहे पार्टी त रित्तिन्छ होला है, प्रधानमन्त्री पनि त्यसै भनिरहेका छन् ?
क्रान्तिमा भागदौड चल्नु स्वभाबिकै हो । आत्मबल कमजोर भएका र अवसरवादी विचार बोकेकाहरु हाम्रो पार्टीबाट भाग्नु र आत्मसमर्पण गर्नु क्रान्तिको नियमभित्रै पर्छ । हामीले जनयुद्ध सुरु गर्दा पनि केही कायर र अवसरवादीहरुलाई एमाले काङ्ग्रेसले खेरबोटल गरेकै हुन् जो अहिले केपी र प्रचण्डले गर्दै छन् । यो पुरानै बासी कुरा हो । क्रान्तिमा पुरानोको निषेध र नयाँको विकास अनिवार्य सर्त हो। हाम्रो पार्टीमा पनि थुप्रै नयाँ प्रतिभाहरु आइरहेका छन् । क्रान्तिमा व्यक्ति आउने जाने कुराले त्यति अर्थ राख्दैन जति विचारको श्रेष्ठता हुन्छ। हाम्रो पार्टीको मूल नेतृत्व कमरेड विप्लव र मूल विचार एकीकृत जनक्रान्तिलाई राष्ट्र र जनताले स्वीकार गरिसकेकोले हाम्रो जित सुनिश्चित छ ।
महासचिव विप्लव लगायत तपाईँ नेताहरु नेपालमा हुनुहुन्न । आउन सक्नुभएको छैन भनिएको छ, जनताको बीचमा हामी छौँ भनेर कसरी भन्नुहुन्छ ?
हामी जनतामा नभएको भए यत्रो आन्दोलन कसले चलाएको होला ? हामी विगतमा जस्तो विदेशी भूमिमा बसेर आत्मसुरक्षावादी हुने पक्षमा छैनौँ । अबको एकीकृत जनक्रान्ति नेता कुनामा बसेर कार्यकर्तालाई आदेश गरी चल्ने वाला छैन । आन्दोलनको अग्रमोर्चामा रहेर नेताले बलिदान गर्ने क्रान्ति हो यो । त्यस कारण हामी आफ्नै माटोमा बलिदान गर्ने अठोटका साथ जनताका बीचमा पसिना बगाइरहेका छौँ ।
तपाईँको पार्टीका कतिपय प्रभावशाली नेताहरु सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । पार्टी नै समाहित हुने कुरा पनि चर्चामा छ। कति सत्य हो ?
विगत लामो समयदेखि पार्टीको अविश्वासमा परी निष्क्रिय भएका र केही हामी स्वास्थ्यका कारण पार्टीको वर्तमान भूमिकामा रहन सक्दैनौँ भन्नेहरु जानु स्वभाविक नै हो। तर जानेहरुले पनि बुझ्नु के पर्छ भने यता मरिन्छ कि भनी उता जाँदा पनि बाँचिने ग्यारेन्टी चाहिँ छैन। किनकि अहिले केपी र प्रचण्डको पार्टीमा जानु भनेको हामीलाई नै मार्न आउने हो । त्यसो हुँदा अब वर्ग संघर्ष घनिभूत हुँदै जाँदा कोही पनि लडाइँबाट अछुतो हुने छैन। फरक यति हो कि देश र जनताको लागि लडेर महान योद्धा र मरेर महान शहीद हुने वा प्रतिक्रियावादी भनेर गद्दार हुने भन्ने हो। जहाँसम्म पार्टी समाहित हुने कुरा आयो त्यो असम्भव र काल्पनिक हो ।
यस्तो अवस्थामा तपाईहरुले भनेको जनक्रान्तिको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?
जनक्रान्ति आवश्यक भएको कुरा त व्यवहारले नै पुष्टि भैसकेको छ। दलाल संसदीय पुँजीवाद असफल भयो भन्ने स्वयं संसदवादी पार्टी्भित्रै बहस सुरु भैसक्यो। आम बुद्धिजीवीले देश र जनताले भोगेको महंगी, भ्रष्टाचार, राष्ट्रघात, जनघात, अशान्ति, गरिबी, चर्का कर, राष्ट्रिय सम्पत्ति माथिको लुटपाट र राज्यको सबै निकायमा देखिएको नवराजशाही प्रबृत्ति र सामाजिक फाँसिवादको विकल्प अब वैज्ञानिक समाजवाद नै हो भन्ने बहस चलाइसके। त्यसकारण अब दलाल पुँजिवादको असफलता पुष्टि भैसकेकाले क्रान्ति नै त्यसको एक मात्र बिकल्प हो।
अझै पनि ‘बम’ क्रान्तिको औचित्य छ ? जनता त त्रसित छन् नि ।
हामीले चाहेको बम र लडाइँ हैन, क्रान्ति हो । क्रान्ति भनेको देशको अर्थतन्त्र बदल्ने कुरा हो। समाज ब्यवस्था बदल्ने कुरा हो। तर दलाल पुँजीवादीहरुले जनताको क्रान्तिलाई बन्दुकमार्फत रोक्न खोज्ने भएकोले बल प्रयोगको आन्दोलन गर्नुपर्ने बाध्यता आएको हो । जनता क्रान्तिबाट त्रसित हैन कि दलाल र जनविरोधिहरु भ्रष्टहरु त्रसित छन्। जनताले त केपी ओलीको सामाजिक दलाल सरकारले हामीमाथि प्रतिबन्ध लगाएपछि लगातार जनकारबाहीको माग गरिरहेका छन्।