आज :

कुमार पौडेल हत्या प्रकरणः गृहमन्त्री बादल र खनालको ‘नक्कली’ रिपोर्ट, सांसदहरु यसरी खनिए

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै सांसदहरुले चर्को विरोध गरेका छन् । सोमबार बसेको संसदका राज्य व्यवस्थाप समितिमा बोल्दै सांसदहरुले गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनालले नक्कली रिपोर्ट पेस गरेको बताए । अधिकांश सांसदहरुले पौडेलको हत्या गरेर गृहमन्त्री र प्रहरीले कलाविनाको नाटक गरिरहेको बताए ।

समिति बैठकमा उपस्थिति भएका गृहमन्त्री थापा र प्रहरी प्रमुख खनालले सांसदहरुको प्रश्नको चित्त बुझ्दो जवाफ दिन सकेका थिएनन् । दुबै जनाले मुठभेडमा मारिएको भनेपनि विश्वास गर्न लागयका एउटा पनि प्रमाण पेश गर्न सकेनन् ।

सत्तारुढ (नेकपा) र प्रमुख प्रतिपक्ष नेपालीका सांसहरुले पौडेललाई नियन्त्रणमा लिएर चरम यातना दिएर हत्या गरेको भन्दै गृहमन्त्री थापाले आफ्नो विगत भुलेको समेत बताए ।

(नेकपा)का नेता तथा सांसद जनार्दशन शर्मा ‘प्रभाकर’ले यस्ता घटनाले देश फेरि द्वन्द्वतिर जाने भन्दै हत्याको विरोध गरे । उनले गृहमन्त्री थापाको बयन बनावटी भएको भन्दै जनताको रिपोर्ट पनि आएको बताए ।

राज्यव्यवस्था समितिको बैठकले मन्त्री थापालाई एक हप्ताभित्र घटनाको प्रतिबेदन बुझाउन निर्देशन दिएको छ ।

कसले के भने ?

जनार्दन

अब फेरीपनि हामी द्वन्द्वतिर होइन, शान्तितिर नै जानुपर्छ । राजनीतिक रुपले अर्को द्वन्द्वको सुरुवात हुनु हुदैन । संविधानले सबै ब्यवस्था गरिसक्दा पनि मुलुक फेरी द्वन्द्वको बाटोमा अघि बढनु हुँदैन । हामीसँग संविधान छ । यसको सरकार र हामी सबैले पालना गर्नुपर्छ । अहिले देखिएको समस्या भनेकै संबिधानको कार्यान्वन नगर्नु नै हो । सबै पक्षले इमान्दारिता पूर्वक संविधानको कार्यान्वन गर्नु नै ठूलो कुरा हो ।

पछिल्ला समयका घटनाक्रम हेर्दा जनताको मनोभावना बुझेर मात्रै कानुन बनाउनुपर्ने रहेछ भन्ने बुझिन्छ । जनसरोकारवालाको पनि सम्बन्ध हुनुपर्छ भन्ने पुष्टि भएको छ । गुठी बिधेयकको विषयमा नेवार समुदायले जुन सम्यमता देखायो, उसले शान्तिपूर्ण आन्दोलन गर्यो, त्यसले ठूलो द्वन्द्व हुन पाएन । हामी त्यो दुर्घटनाबाट बचेका छौँ । नाकाहरुमा कति गाडि आयो भन्ने त तपाईंहरुको पनि रेकर्ड होला । त्यहाँ घुसपैठ गरेर द्वन्द्व भड्काउन खोजिएको थियो । द्वन्द्व भड्काएर अहिलेको परिवर्तनलाई संस्थागत हुन नदिने समूहहरु सक्रिय छन् ।

हामीसँग संविधान भएपछि त्यसलाई नमान्ने समूहलाई संविधान अनुसार नै कारबाही गर्ने व्यवस्था छ । अहिले झन् हामीले विप्लव समूहलाई थप प्रतिबन्ध लगायौँ । प्रतिबन्ध लगाउन आवश्यक थियो कि थिएन ? मेरो विचारमा थिएन भन्ने हो । किनभने कानुनले अधिकार दिएकै थियो हामीलाई । त्यस्तो गतिबिधी गरेपछि, हतियार बोकेपछि त्यसलाई समात्ने अधिकार त अघिपछि पनि छँदै थियो ।
तर अहिले आएर घटनाहरु जसरी भइरहेका छन्, गृहमन्त्रीको जसरी रिर्पोट सुनियो । गृहमन्त्रीले तलबाट जे आयो त्यही नै प्रस्तुत गर्नुभयो म जान्दछु । तर कुरा के हो भने आजको दुनियाँ डिजिटलमा छ । आजको जनता धेरै सेचत भइसकेको अवस्थामा तथ्यहरुलाई बङग्याएर हैन, तथ्यहरु गल्ति भएको सच्याएर जानुपर्छ । त्यसले मात्रै शान्तिप्रक्रिया अघि बढाउँछ ।

अहिले प्रहरीमा अनुसन्धानमा, साधन स्रोतमा कमजोरी हैन, सबै जानकारी थाहा होला । आईजीसाबलाई कहाँ के गतिबिधी भइरहेको छ तुरुन्तै सुचना आउछ अहिले ? सबै उपकरण छ, को कहाँ बस्छ सबै थाहा हुन्छ । थोरै थाहा नहुने, जानकारी नहुने कुरा हो र ? प्रविधिले जानकारी गराँउछ त्यो समस्या हैन ।

प्रहरीले घटनालाई मुठभेड भनेर रिर्पोट दिएको छ तर जनताको पनि रिर्पोट छ । तथ्य छ, फोटाहरु छन्, त्यो फोटो त प्रहरीले दिएको हो । को थियो र त्यहाँ मुठभेडमा ? प्रहरीले दिएकै फोटो हेर्यो भने पाँचछ ठाँउ त हातै भाँचिएको देखिन्छ । पहिला हात खुट्टा भाँचेर गोली हानेको अवस्था कसरी मुठभेड हुन सक्छ ? कि गोली हानेपछि भाँचियो त हातखुट्टा ? त्यसो त हैन । त्यसकारण यस्तो घटनाले बिद्रोह र जनतामा असन्तुष्टि आउँछ ।

यो हत्याले मैले हिजोको मेलगढी घटना सम्झे, जहाँ धनमाया, ललि रोकाको हत्या भएको थियो । विभिन्न अप्रेशनका नाममा मारिएको थियो । के फेरी त्यही घटना प्रबृतिलाई दोहोर्यान चाहन्छौँ ? त्यो मान्य हुँदैन त्यसो गर्न पाइदैन । प्रहरीले नियन्त्रणमा लिन सक्छ, संविधान अनुसार कारवाही गर्नुपर्छ । पाँच सय जना कार्यकर्ता त पक्राउ गर्नुभएको छ नि, त्यसमा हामीले प्रश्न उठाएका छौँ र ? त्यसलाई बार्तामार्फत अघि बढाउनुपर्छ । कमसेकम साधारण मानवअधिकारको त पालना त गर्नुपर्छ ।

हिजो प्रहरीले पनि त्यस्ता घटना नघटाइदिएको भए हामीसँग जनसमर्थन बढ्दैनथ्यो कि । त्यसैले प्रहरीले पनि द्वन्द्वलाई बढाउने काम गर्नुहुँदैन । यो घटनाको सत्यतथ्य छानविन र दोषीलाई कारवाही होस् ।

नेकपाकै सांसद महेश्वरजंग गहतराजले घटनाबाट मुठभेड भन्ने नदेखिने भन्दै प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको बताए । यो व्यवस्थालाई अप्ठ्यारो पार्न विभिन्न गतिबिधी भइरहेको भन्दै उनले प्रतिशोध साँध्ने तरिकाले पनि यस्ता घटना बढिरहेको गरे । ‘के विप्लव समुहसँग वार्ताको बाताबरण समाप्त भइसकेको हो ?’ उनले प्रश्न गरे ।

यस्तै नेपाली काँग्रेसका सांसदहरुले पनि कुमार पौडेलको बर्बरतापूर्वक हत्या भएको भन्दै छानविनको माग गरे । काँग्रेस सांसद डिला सङ्ग्रौलाले गृहमन्त्रीले आफ्नै विगत विर्सिएको भन्दै पौडेलको हातखुट्टा बाँधेर हत्या भएको परिवारले बताएको उल्लेख गरिन् । यस्तै दिलेन्द्रप्रसाद बडुले उक्त घटनालाई अन्तर्रा्ष्ट्रिय कानुन विपरितको घटना भएको भन्दै गृहमन्त्री आफैले संसदमा बोल्दै विप्लव समूह शक्तिशाली बन्दै गएको, ४ कम्पनी सेना रहेको बताउने तर वार्ताको लागि किन पहल नगरेको भन्दै प्रश्न गरे ।

दिलेन्द्र प्रसाद बडु

सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ । कुमार पौडेलको हात भाँचिएको र नियन्त्रणमा लिएर हत्या गरिएको भन्ने कुरा आएको छ । यो त अन्र्तराष्ट्रिय कानुन बिपरितको घटना भएको छ ।

यो घटनालाई सरकारले स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले नै संसदमा बिप्लव समुहले कम्पनी बनाएको शक्तिशाली बन्दै गएको बताउनुभएको थियो । यस्तो हो भने विप्लव समुहलाई बार्तामा किन ल्याउनुहुन्न ? तपाईंहरुले नजिकको विगतलाई बिर्सन हुदैन । गिरिजाप्रसाद कोइरालाले शान्तिप्रक्रियालाई अघि नबढाएको भए तपाई हामी कहाँ पुग्थ्यौं ? तपाईहरुबाट नै शान्तिप्रक्रिया खलबलिने हो कि भन्ने शंका उत्पन्न भएको छ ।

डिला सङ्ग्रौला

गृहमन्त्रीले आफ्नो विगत किन बिर्सनुभयो ? मुलुकलाई कहिलेसम्म द्वन्द्वमा लगिरहने ? परिवारले हातखुटट बाँधेर हत्या गरेको बताएका छन् । घटनाको निष्पक्ष छानविन होस्, फेरि देशलाई द्वन्द्वमा लाने काम नगरियोस् ।

रेखा शर्मा

केही समयअघि पूर्वमा पनि यस्तै घटना भएको थियो, किन यसरी घटना घटाइदैछ ? कुमार पौडेलको शबको फोटो भाइरल भएको छ । त्यसमा हात भाँचिएको छ । फोटो हेर्दा भिडन्तमा मारिएको देखिदैँन । विगतमा पनि मुठभेडका नाममा यस्तै भएको थियो । यो घटनामा निष्पक्ष छानविन हुनुपर्छ । म पहिला १ बर्ष जेल बसको बेला पनि यस्तै घटना हुने गरेको थियो ।

यशोदा सुवेदी

मारिएका कुमार पौडेलको साथबाट प्रहरीले जुन कुरा बरामद गरेको छ, त्यसमा प्रश्न उठाउने धेरै ठाउँ छन् । फ्युज वायरबाट बम बिस्फोट हुन्छ कि हुँदैन ? झोलामा पेस्ताल बोकेको भनिएको छ, झोलामा भएको पेस्तोलबाट दोहोरो भीडन्त हुन्छ ? चन्दा असुलीमा संलग्न भनिएको छ तर चन्दाका लागि रसिद किन बरामद भएन ? पौडेलको शबको फोटो हेर्दा दोहोरो भिडन्त देखिदैन, विभत्स तरिकाले हात भाँचिएको छ । विप्लव समूहको असमतिको विषय के छ सहमतिको टेबुलमा ल्याँउनुपर्छ । के विप्लव समुहलाई मारेर सक्छु भन्न खोजेको हो ? राज्य पक्षबाट आएको जवाफ सन्तुष्ट हुनेखालको छैन । मानवअधिकार हनन् गरिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ । प्रहरीले यस्तो गर्दै जाने हो भने उनीहरुकै पक्षमा सहानुभूति झन बढ्दै जान्छ ।

महेश्वरजंग गहतराज

त्यो घटना मुठभेड भन्ने देखिदँैन । प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको देखिन्छ । यो राम्रो विषय होइन । नेपाली जनता शसंकित छन्, यो व्यवस्थालाई अप्ठ्यारो पार्ने गर्ने विभिन्न गतिविधी भइरहेका छन् । प्रतिशोध साँध्ने तरिकाले पनि यस्ता घटना बढिरहेका छन् । विप्लव समुहसँग बार्ताको बाताबरण समाप्त भइसकेको हो ? सरकार खराब क्रियाकलाप गर्नेहरुको पनि अभिभावक हो । कसैले खराब काम गर्छ भने पनि त्यसलाई कानुुनी प्रक्रिामा ल्याएर सुधार गर्नुपर्छ । तराईमा राज्य टुक्राउँछु भनेर हिँडेको समुहलाई त मुलधारमा ल्याइएको छ भने विप्लव समूहलाई ल्याउन किन सक्दैन ?

रामसहायप्रसाद यादव

कुमार पौडेलको हत्या मुलुकका लागि दुर्भाग्य हो । यो घटनालाई सामान्य रुपमा नहेरियोस् । धेरै जनताले यो घटनालाई दोहोरो मुठभेड मानेका छैनन् । यदि राज्यको त्यो नीति हो भने ठूलो दुर्भाग्य हुन्छ । पहिले जस्तो जनतालाई मुर्ख ठानेर शासन गर्न सम्भव छैन । यो घटनालाई राज्यले संबेदनशील घटनाको रुपमा लिनुपर्छ ।

मिना पाण्डे

म त बैठकमा ढिलो आएँ । गृहमन्त्री ज्यूले बोलिसक्नु भएछ । उहाँको कुरा मैले सुन्न नपाएपनि दोहोरो भिडन्तमा मारिएको भन्नुभयो होला । तर त्यो दोहोरो भिडन्त नभएर बर्बर याताना दिएर हत्या गरेको हो । त्यसबारेमा फोटो नै बोल्छ । मैले पाएको सुचना अनुसार लासलाई अचेत अस्वस्थामा हातमा कन्चटमा र पिठ्युमा ३ गोली हानिएको रे । सामान्य मान्छेले त्यो लास हेर्न नसकिने अवस्थामा थियो । सामान्य मन भएको प्रहरीले त्यसरी हत्या गर्न सकेन होला । पेशेवर हत्याराले जस्तै हत्या गरिएको जस्तो छ । प्रहरीले पेशेवर अपराधीलाई हत्या गर्न लगाएर आफूले जिम्मा लिएको हो कि भन्ने लाग्छ ।

लासको प्रकृति हेर्दा मुठभेड हैन । गोठालाहरुले त्यो जङगलमा गोली चलेको छैन भनेका छन् । यसले त राज्यलाई द्वन्द्वमा धकेल्छ । यो देशले फेरी द्वन्द्वकोे सामना गर्न सक्दैन । उनीहरुसँग बार्ता मार्फत समस्याको समाधान गर्नुपर्छ ।

झपट रावल

विप्लव समूह राजनीतिक हो भने एउटा कोणबाट छलफल गर्नुपर्छ । विप्लव समुहप्रति हाम्रो बुझाई के हो ? सबैभन्दा पहिला यसलाई प्रष्ट पार्नुपर्छ । यो घटनाको सन्र्दभमा त म के भन्छु भने कलाबिहिन नाटक प्रर्दशनको संज्ञा दिन चाहन्छु । कता प्रस्तुत गर्दा पनि ढङ्ग पुर्यायो भने त्यो रोचक हुन्छ, शिक्षाप्रद हुन्छ, आनन्ददायक हुन्छ, मनोरञ्जनात्मक हुन्छ । तर कलाविहीन ढङ्ग नपुरयाएको नाटक हो भने अघि भनिएका चिजहरु प्राप्ति हुँदैनन् । घटनाका बारेमा माननीयज्यूहरुले धेरै भनिसक्नुभएको छ । तत्काल यो घटनाको बारेमा छानविन गर्नुपर्छ । तथ्यहरु जुन आएको त्यसको र घटनाको प्रकृतिको कुनै साइनो छैन । कानुन भन्दा माथि कोही हुन सक्दैन ।

घटनाको प्रकृतिले मान्छे मर्यो भन्दा पनि काल पल्क्यो भन्ने देखायो । फेरी पनि घटना घटाउने र जवाफ दिइरहने ? संसारमा क्रान्ति पछि पनि प्रतिक्रान्ति गर्ने समुह हुन्छन् त्यसको कसरी ब्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ ।

फेरी पनि मेरी दिदीको सिउँदो पुछिएको हामी हेर्न सक्दैनौँ, आमा छोराछोरीको टुहुरा भएको हेर्न सक्दैन । यो समस्या समाधान गर्नका लागि तत्काल पहल लिनुपर्छ ।

तिर्था गौतम

त्यो मान्छे यो देशको लागि पनि काम लाग्न सक्थ्यो । हामीले देशलाई फेरी द्वन्द्वतिर लान थालियो । उसलाई नियन्त्रणमा लिएर कारवाही पनि गर्न सकिन्थ्यो । फेरी पनि एउटा नेपाली मारियो । यसबाट हामीले के पायौँ । घटनाको बारेमा सत्यतथ्य छानविन होस ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal