कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो क्वालिफायरमा सिवाइसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ११ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन जोडेको हो । खेलको विजेता टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ ।
अत्तरीयाका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै सन्नी पटेलले २८ तथा सुवेन्दु पाण्डेले १६ रन बनाए ।
काठमाडौंका अंकित दावस र सुर्य तामाङले समान २ २ विकेट लिए । मंगलबार लिग चरण अन्तर्गत नै भएको खेलमा अत्तरीयाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको थियो ।
