News Portal

कर्मचारी नियुक्तिमा स्थानीय तहको हस्तक्षेप, प्रकाशन गरिएको नतिजा बदर

२६८ पटक

रोल्पा । रोल्पा जिल्लामा कर्मचारी नियुक्तिमा जनप्रतिनिधिले हस्तक्षेप गर्न थालेका छन् ।

रोल्पा थबाङ गाउँपालिका अध्यक्षले ओभरसियर नियुक्तिको नतिजा बदर गराएका छन् ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका लागि गाउँपालिकाले विज्ञापन गरेको उक्त पदको प्रकाशन गरिएको नतिजा नै बदर गरिएको छ ।

गत पुष ५ गते ३ जनाले लिखित परीक्षा दिएकोमा ६ गते मौखिक जाँचमा पवन पुन सफल भएका थिए । उक्त सुचना जारी गरेको गाउँपालिका आफ्नै निर्णयबाट पछि सरेपछि विवाद आएको हो ।

‘प्रक्रियागत ढंगले फेयर जाँच गराएका हौं हामी बाहिरका कर्मचारी न हाम्रा कोही थिए न आफ्ना कोही छन् । कसैका आफन्त परेनन् भनेर नतिजा प्रकाशन गरिसकिएको परीक्षा नै बदर गराइएको छ ।’ पदपूर्ति समितिका संयोजक तथा गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विकले बताए ।

उनले भने, ‘मलाईसमेत एक पटक पनि नसोधेर गाउँकार्यपालिकाले पुनः परीक्षा गराउने निर्णय गरेको छ । तर त्यसमा म सहमत छैन ।’

अन्तर्वार्तामा असफल भएका उम्मेवार मेहन्द्र केसीले परीक्षामा प्राविधिक प्रश्नसँगै अन्य सामान्य ज्ञानका प्रश्न पनि सोधिएको भन्दै परीक्षा बदर गराई पाऊँ भन्दै उनले गाउँपालिकामा निवेदन दिएका थिए । ‘सहभागीले परीक्षामा गडबड भएको भन्दै उजुरी गर्नु भएको रहेछ । त्यसैलाई आधार मानेर बदर गरेका हौ ।’

थबाङ गाउँपालिकाका प्रमुख वीरबहादुर घर्तीले भने, ‘अब हामीले परीक्षा गराउन सक्दैनौं । प्रमुख प्रशासकीय अधिकृतले म यो विषयमा कुनै काम नै गर्दिनँ भन्नुभएको छ । बदरको निर्णय पनि फिर्ता हुँदैन बरु कर्मचारी चाहिँदैन ।’

आफूहरुलाई परीक्षामा इन्जिनियरिङबाहेक बाहिरबाट पनि प्रश्न सोधिएकाले उजुरी गरेको महेन्द्र केसीले बताए । ‘अरू त केही थाहा भएन । परीक्षामा प्राविधिक प्रश्न मात्र नराखेर सामान्य ज्ञानका प्रश्न पनि राखिएकाले उजुरी दिएको हुँ । फिल्डभन्दा बाहिरको प्रश्न सोधिएकोमा आपत्ति हो ।’

उता परीक्षामा सफल भएका पुन आफूले नियुक्ति नपाएपछि दिक्क छन् । ‘गाउँपालिकाले पनि केही भनेको छैन । अस्ति नै फोन गरेर सोधेको नियुक्ति हुन्छ भन्नुभएको थियो, अहिले उजुरी परेको भन्ने सुनेको छु ।’

आफ्ना मान्छेलाई जागिर खुवाउने थलो बनेको आरोप लाग्ने गरेका स्थानीय तहमा यतिबेला कर्मचारी र जनप्रतिनिधिबीच असहज सम्बन्ध स्थापना हुन थालेको छ ।

जनप्रतिनिधिहरू आफन्त, चिनजान, कार्यकर्ता र भनसुनमा चल्ने तर कर्मचारीले योग्य जनशक्तिलाई स्थान दिन खोज्ने भएपछि उनीहरुबीचमा दूरी बढ्ने गरेको हो ।

प्रतिकृया दिनुहोस्