News Portal

नेपाल भित्रिएको म्यान्मारको सुन एउटै व्यक्तिको, किनबेचमा कुरा नमिलेर बाहिरीयो

२११ पटक

काठमाडौं । कञ्चनपुरबाट बरामद अवैध साढे २३ किलो सुन एउटै व्यक्तिको भएको खुलेको छ ।

प्रहरीले सुनसँगै शुक्लाफाँटा नगरपालिका ११ झलारीका ३३ वर्षिय लक्ष्मण तिरुवा र उनका भाई २८ वर्षिय सुरज तिरुवालाई पक्राउ गरेको छ ।

बिहीबार राति बरामद ५ किलो ६ सय ग्राम (३४ बिस्कुट) लक्ष्मणकै घरमा लुकाइराखेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । पुनर्वासमा बरामद भएको १८ केजी (१०८ बिस्कुट) सुन सुरजको ससुरालीमा लुकाएर राखिएको थियो ।

नेपालमा प्राय : चीन र दुवईबाट सुन तस्करी हुने गरेको पाइन्छ । तर यहाँ बरामद सुन भारतबाट चोरी गरी ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुदीप गिरीका अनुसार पक्राउ परेका लक्ष्मण भारतको दिल्लीमा सवारी चालउँथे । दिल्लीमा व्यापार गर्ने साहुले उनलाई म्यान्मारबाट सुन तस्करीमा प्रयोग गरेका थिए । प्रहरीले लक्ष्मणका साहुको नाम भने खुलाएको छैन ।

‘लक्ष्मण नै गाडीमा म्यान्मारबाट साहुका मान्छेसँगै सुन ल्याएर दिल्ली आउने गरेको खुलेको छ,’ एसपी गिरीले भने, ‘तर उक्त कुरा लक्ष्मणलाई भने थाहा थिएन, साहुले उनीसँगै आफ्ना मान्छे पठाउने र तिनले नै सुन ल्याउने गर्थे ।’ जब लक्ष्मणले आफू सुन तस्करीमा प्रयोग भएको थाहा पाए, त्यसपछि सुनसहितको गाडी लिएर नेपाल पसेको उनले बताएका छन् ।

उनका अनुसार साहुले पठाएका व्यक्तिलाई बाटोमै छाडेर लक्ष्मण करिब ३ महिनाअघि नोभेम्बर २३ तारेखमा सुनौली नाकाबाट भारतीय नम्बरको गाडीमा सुनसहित नेपाल पसेका थिए ।

लक्ष्मणले दिल्लीबाट ३२ किलोग्राम सुन ल्याएका थिए । उनी नेपाल आएदेखि नै साहुले खोजी सुरु गरेको प्रहरीले जनाएको छ । त्यही क्रममा साहुले आफन्तलाई खोजीमा पठाएको देखिन्छ । लक्ष्मणले भारतबाट ल्याएको गाडी कोहलपुरमा साहुको आफन्तलाई दिएका थिए ।

त्यसपछि सुन खोजीमा साहुले फेरि अर्का व्यक्ति पठाएको र लक्ष्मणले तिनलाई ८ किलोग्राम सुन दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि पनि साहुले सुन खोज्दै धम्काउने गरेपछि लक्ष्मण डेढ महिनादेखि फरार थिए । भाइ सुरजले दाइको खोजीका लागि प्रहरीमा निवेदन पनि दिएका थिए । लक्ष्मणलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरी त्यहाँ ल्याएको खुलेको छ ।

‘भारतीय साहुले सुन खोजी गर्दादेखि नै सिआईबीसम्म उक्त खबर पुगेको थियो’ एसपी गिरीले भने, ‘लक्ष्मण फरार हुनु र गाउँमा भएको सुन बिक्री गर्दा विवाद हुन थालेपछि यो कुरा बाहिर आएको हो ।’ लक्ष्मणले करिब ४ सय ग्राम (२ बिस्कुट) सुन गाउँमै बिक्री गरेका छन् ।

सोधपुछका क्रममा थप सुन घरमै रहेको कुरा लक्ष्मणले बयान दिएको प्रहरीले जनाएको छ । लक्ष्मणले सुन बेच्ने प्रयास गर्दा कुरा नमिलेर बिक्री हुन सकेको थिएन । किनबेचमै कुरा नमिल्दा उक्त कुरा बाहिर आएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुन र पक्राउ परेका दाजुभाइलाई प्रहरीले कोहलपुरस्थित राजश्व अनुसन्धान विभागको कार्यालयमा पठाएको छ । अनुसन्धान पनि चलिरहेको प्रहरीले जनाएको छ । सुन तस्करीमा सुरजको प्रत्यक्ष संलग्नता नभए पनि उनले लुकाइछिपाइ राख्न मद्दत गरेका छन् ।

प्रतिकृया दिनुहोस्