काठमाडौं । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका-४ का वडाध्यक्ष झकबहादुर कुमाल थुनामा परेका छन् ।
गत वैशाख २५ गते युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
उनले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
उनले नवलपुरको बुङ्दीकाली गाउँपालिका-२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।
अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको छ । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको हो ।
त्यस्तै एक महीनाको अवधीमा तनहुँको भानु नगरपालिकामा २ चितुवा मृत फेला परेका छन् । भानु नगरपालिका-५ चुँदीरम्घा र भानु नगरपालिका-२ शेखाटारमा चितुवा मृत फेला परेका हुन् ।
भानु नगरपालिका-५ चुँदीरम्घास्थित भानुभक्त शिखेरी कटेरी नजिक सोमबार भाले चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।
चितुवाको घाँटीमा नङ्ग्राले चिथोरेको भेटिएको छ । मृत चितुवाको छाला निकालेर टिकौली सशस्त्र वनरक्षक तालिम केन्द्रमा पठाइने छ । यसअघि पुस २९ गते भानु नगरपालिका-२ मा भाले चितुवा मृत फेला परेको थियो ।
