News Portal

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार जित

२०४ पटक

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार जित भएको छ ।

जितसँगै पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६-० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरेका थिए । सटीका लागि रहिम स्ट्रलिङले २ गोल गर्दा इल्क्ये गुन्डुगानले १ गोल गरे । सिटीले चेल्सीविरुद्ध पहिलो हाफको २५ मिनेटभित्रै ४ गोल गरेको थियो ।

खेलको चौथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १३ औं र १९ औं मिनेटमा अग्युरोले गोल गरेका थिए । त्यस्तै २५ औं मिनेटमा गुन्डुगानले गोल गरेपछि पहिलो हाफमा सिटीले ४-० को अग्रता लियो ।

खेलको ५६ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै सिटीको अग्रता ५-० बनाए । योसँगै अग्युरोले प्रिमियर लिगमा करियरको ११ औं ह्याट्रिक पुरा गरे ।

अग्युरोले सर्वाधिक ह्याट्रिक गर्ने एलेन सेरेरको कीर्तिमानीसँग बराबरी गरेका छन् । एकपक्षीय खेलको ८० औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६-० को जित दिलाए ।

जितसँगै सिटी लिग शीर्ष स्थानमा समेत उक्लिएको छ । सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एक खेल कम खेलेको लिभरपुलको ६५ अंक छ । पराजित चेल्सी २६ खेलबाट ६० अंक जोडेर लिगको छैटौं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा टोटनह्यामले पनि सहज जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको हो । टोटनह्यामलाई जिताउन डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले १-१ गोल गरे ।

लेस्टरका जेमी भार्डीले १ गोल फर्काए । जितसँगै टोटनह्यामले २६ खेलबाट ६० अंक जोड्दै लिगको अंक तालिकामा तेस्रो स्थानमा छ । ३२ अंकसहित लेस्टर सिटी भने १२ औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्