News Portal

  • उपराष्ट्रपतिसँग नवनियुक्त साउदीका राजदूतको शिष्टाचार भेट

    ३०४ पटक

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले शिष्टाचार भेट गरेका छन् ।

    आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले शिष्टाचार भेट गरेका हुन् । भेटमा उपराष्ट्रपतिले नेपाल र साउदी अरबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म विस्तार भईरहेको बताए ।

    विभिन्न माध्यामबाट २ देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने पनि बताए । नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउदै साउदी अरबियालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

    उनले भने,‘नेपाल विकास र समृद्धितिर अगाडि बढिरहेको छ । यसका लागि हामी लगानी खोजिरहेका छौँ । साउदी अरबसँग स्रोत छ, हामीसँग लगानीको प्रशस्त क्षेत्र छ, कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस् ।’

    नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी दिँदै उनले साउदीबाट अधिकतम पर्यटक आउने अपेक्षा राखे । भेटमा नेपालका लागि साउदी राजदूत मारवानीले साउदी र नेपालको सम्बन्ध प्रगाढ बन्दै गईरहेको बताए ।

    उनले दुई देशबीच उच्चस्तरीय भ्रमणको आवश्यक रहेको उल्लेख गरे । ‘सम्बन्धलाई अझै प्रगाढ र सहकार्यलाई फराकिलो बनाउनु पर्दछ, यसका लागि द्वीपक्षीय उच्चस्तरीय भ्रमण हुनुपर्दछ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न साउदी अरबिया सदैव तयार छ ।’

    उनले नेपालमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण सम्पन्न भएमा साउदीबाट प्रत्यक्ष उडान गर्न सकिने पनि बताए ।

    प्रतिकृया दिनुहोस्