News Portal

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा ६२१ उजुरी

    १४७३ पटक

    सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ ।

    चालू आव २०७५-७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट भएको छ । ४ सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

    संघीय मामिलाअन्तर्गत १८८ उजुरी परेकोमा ५१ फछ्र्यौट तथा १३७ बाँकी छ । शिक्षा सम्बन्धि १८०, वन तथा वातावरणतर्फ ५८, ऊर्जा, जलस्रोत र सिँचाइका ५१, स्वास्थ्य तथा जनसंख्याका ३९ र भौतिक पूर्वाधार तथा यातायात सम्बन्धि २९ उजुरी परेको उनले बताए ।

    खानेपानी सम्बन्धि २०, कृषि तथा पशुपंक्षी विकासमा १३, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा १४, गृहतर्फ १०, शहरी विकासमा ७, उद्योग, वाणिज्य तथा आपूर्तितर्फ ५, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनतर्फ ३, सञ्चार तथा सूचना प्रविधितर्फ ३ तथा युवा तथा खेलकूद सम्बन्धि एउटा उजुरी परेको छ ।

    जिल्लागत तथ्याङ्कअनुसार सुर्खेतबाट १३७, दैलेखबाट १०८, जाजरकोटबाट ८७, कालीकोटबाट ७०, जुम्लाबाट ४८, हुम्लाबाट ४२, रुकुम पश्चिमबाट ४०, सल्यानबाट ४३, मुगुबाट ३१ तथा डोल्पाबाट ११ उजुरी परेको बताए ।

    उनले भने,“कार्यविधि एवं नियमसङ्गत काम नगरेका, बाटो, सडक, भवन, सिँचाइ तथा कुलो निर्माणमा भएका अनियमितता सम्बन्धि बढी उजुरी परेको छ ।”

    शंका, रिसइवी र राजनीतिक पूर्वाग्रहका आधारमा पनि उजुरी पर्ने गरेको छ । उजुरी परे पनि तथ्य सावित गर्ने खालका प्रमाण नजुट्दा अनुसन्धानमा समस्या भएको बताए । चैत, वैशाख, जेठ र असारमा अत्यधिक उजुरी परेकोे बताइएको छ ।

    प्रतिकृया दिनुहोस्