News Portal

जापानलाई हराउँदै कतारले एसिया कप फुटबलको उपाधि जित्यो

१७० पटक

काठमाडौं । कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ ।

युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा शुक्रबार बेलुकी सम्पन्न खेलमा चार पटकको विजेता जापानलाई ३-१ ले पराजित गर्दै कतारले उपाधि जितेको हो ।

कतारको जितमा अलमोएज अली, अब्देल अजिज हातिम र अक्रम हसन अफिफले गोल गरे। पराजित जापानका लागि ताकुमी मिनामोनोले एक गोल फर्काए ।

कतारले खेलको १२ औं स्ट्राइकर अलीको गोलमा अग्रता लिएको थियो । उनको यो प्रतियोगितामा ९ औं गोल हो । योसँगै सुडानमा जन्मिएका अलीले एसिया कप फुटबलको इतिहासमा एकै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

यसअघि यो कीर्तिमान ८ गोल गरेका इरानका अली दाईको नाममा रहेको थियो । २७ औं मिनेटमा हातिमले कतारको अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० ले पछि परेको जापानका लागि ६९ औं मिनेटमा मिनामोनोले गोल गर्दै अग्रता छोट्याएपनि ८३औँ मिनेटमा पेनाल्टीमार्फत हसन अफिफले गोल गरेपछि एसियाली पावर हाउस जापानलाई ३–१ ले स्तब्ध पार्दै उपाधिमाथि कब्जा जमायो ।

जापान पहिलो पटक एसिया कप फुटबलको फाइनलमा पराजित भएको हो । सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार पहिलो पटक एसिया कपको फाइनलमा पुगेको थियो । युएईलाई ४–० ले पराजित गर्दै कतार फाइनलमा प्रवेश गरेको थियो ।

प्रतिकृया दिनुहोस्