
काठमाडौँ । इजरायलको अमानवीय कार्यको श्रंखलाले सीमा नाघेको छ । हमासको नाममा गाजामा रहेका सर्वसाधारणको कत्लेआम गरिरहेको इजरायलले अस्पतालमा ६ वटा बम खसालेको छ ।
गाजास्थित खान युनिसको एक युरोपेली अस्पतालमा इजरायलले एकैपटक ६ वटा शक्तिशाली बम खसालेको हो । बम विस्फोटमा परी २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले एकैसाथ खसालेका ६ वटा बम अस्पतालका आँगन र वरपरका क्षेत्रमा खसेका थिए।
यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचारपछि उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।
७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबीचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।