
काठमाडौं । सोमबार विहानैबाट देशभर मौसम बदलीसँगै हिमपात र वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावका कारण भएको मौसम बदलीसँगै रातिबाट दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार दार्चुलाको व्यास, अपी हिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भू-भागमा हिमपात भएको छ । यस्तै, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिजो बिहानदेखि नै हिमपात भइरहेको थियो ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार गएको २४ घण्टामा सबैभन्दा धेरै गण्डकी प्रदेशको म्याग्दीमा वर्षा भएको छ । म्याग्दीमा ७ दशमलव ४ मिलीमिटर पानी परेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही ठाउँमा र लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने मौसमविद्ले बताएका छन् । यो प्रणाली हटेपछि देशभरकै अधिकतम र न्यूनतम तापक्रम घटी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट जोगिन पनि मौसमविद्ले सुझाव पनि दिएका छन् ।
मौसम बदलीसँगै काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ । शुक्रबार र शनिबार बिहान १ डिग्रीमा झरेको न्यूतम तापक्रम बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएर रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् श्रेष्ठले बताए । रातको समयमा बादल लाग्दा जमिनको तातो वाफ वायुमण्डलमा जान नपाउने हुँदा जमिन तातै रहने मौसमविद्ले बताउँदै आएका छन् । तर, न्यूनतम तापक्रम अहिले बढे पनि पश्चिमी वायुको प्रभाव हटेपछि भने तापक्रम घट्ने र चिसो झनै बढ्ने मौसमविद्ले बताएका छन् ।
अहिलेको अवस्थालाई हेर्दा पश्चिमी वायुको प्रभाव पर्सि बुधबारसम्म नै रहने देखिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।