
१५ माघ।
काठमाडौ ।
एमाओवादी अध्यक्ष प्रचण्डको मोबाइल एप्स सुरु भएको छ । प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले बिहीबार प्रेस वक्तव्य जारी गरेर बिहीबारदेखि प्रचण्डको मोबाइल एप्स सुरु भएको जानकारी गराएका छन् ।
प्रचण्डलाई जनता र कार्यकर्तासँग प्रत्यक्ष संवाद र सम्बन्धका लागि मोबाइल एप्स सुरु गरिएको उनले जानकारी गराएका छन् ।
‘विचारको विकासको स्रोत मुक्तिकामी श्रमजीवी जनता हुन्,’ महराको विज्ञप्तिमा भनिएको छ, ‘जनता तथा कार्यकर्ताहरूमा प्रत्यक्ष सम्पर्क र सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ सिंगो पार्टी र अध्यक्ष प्रचण्डका दैनिक गतिविधि मोबाइल एप्समार्फत सार्वजनिक गर्ने कार्यको पनि शुभारम्भ गरेका छौँ ।’
हाल एन्ड्रोइडमा प्रचण्ड नाममा सुरु भएको एप्सलाई छिट्टै एप्पल आइओ एसमा पनि सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । प्रचण्डको नाममा वेबसाइट, फेसबुक र ट्विटर एकाउन्ट सञ्चालनमा छन् ।