Dabali News

गैंडा उपहारले चीनसँगको सम्बन्ध अझ प्रगाढ हुने : प्रम

२८ असार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् ।

नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उनले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही समयअघिको आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट भएको स्मरण गर्दै भ्रमणका बेला भएको पारवहन र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम दु्रतगतिमा अघि बढेको जानकारी दिए । भृकुटी र अरनिकोबाट शुरु भएको नेपाल–चीनबीचको सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । चीनलाई हस्तान्तरण गरेका गैंडालाई चीन सरकारले उचित वातावरणमा हुर्किने व्यवस्था मिलाउने अपेक्षा गर्दै उनले मुलुकको भौगोलिक र जैविक विविधतामार्फत विभिन्न देशसँग नेपालको सम्बन्ध प्रगाढ बनेको बताए ।

नेपाल सरकार मन्त्रिपरिषदको विसं २०७३ असार २६ गतेको बैठकबाट चीन सरकारलाई २ जोडी गैंडा दिने निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट एक जोडी गैंडा ल्याई हस्तान्तरण गरिएको हो ।
अर्काे जोडी गैंडा आगामी साउनभित्र हस्तान्तरण गरिने बताइएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्रसहित एक जोडी गैंडा नेपालका लागि चिनियाँ राजदूत यु होङ मार्फत चीन सरकारलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गैंडा हस्तान्तरण कार्य बहुआयामिक महत्वको भएको बताउँदै यसले आगामी दिनमा नेपालको पहिचानको चर्चा विश्वमा अझ बढ्ने धारणा व्यक्त गरे । उनले यस कार्यले आगामी दिनमा दुई देशबीच अझ सुमधुर सम्बन्ध कायम भई वन्यजन्तु र जैविक विविधता संरक्षणमा थप सहयोग र समन्वय हुने अपेक्षा व्यक्त गरे । हस्तान्तरण गरिएका एक जोडी गैंडामध्ये भालेको नाम ‘भद्र’ र पोथीको नाम ‘रुपसी’ राखिएको छ भने दुवैको उमेर एकदेखि दुई वर्षको छ । भाले गैंडाको तौल अनुमानित ९०० केजी छ भने पोथी गैंडाको तौल एक हजार २०० केजी रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

दुवै गैंडालाई आजै साँझ चीनबाट आउने कार्गाे विमानमा राखेर लैजाने र गैंडालाई चीनको गोन्जाउ प्रान्तको चेमोलोङ सफारी पार्कमा प्राकृतिक वातावरणमा राखिने चिनियाँ दूतावासले जनाएको छ ।
कार्यक्रममा चिनियाँ राजदूत यु होङले गैंडा उपहार चीन सरकारका लागि विशेष उपहार भएको बताउँदै उक्त गैंैडा उचित वातावरणमा आफ्नै घर ठानेर हुर्किने विश्वास व्यक्त गरे । चीन र नेपालबीचको भेटघाट र आदानप्रदानले सम्बन्ध थप प्रगाढ र विस्तार हुँने बताउँदै वन्यजन्तु संरक्षण एवं प्रवद्र्धनका लागि नेपाल सरकारद्वारा हालसम्म मित्रराष्ट्र भारत, संयुक्त राष्ट्र अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहारस्परुप प्रदान गरिसकिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्ववनमन्त्री अग्निप्रसाद सापकोटा, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओली, वन सचिव डा.विश्वनाथ ओली, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, नेपाली सेनाका कायममुकाय प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलगायत उपस्थित रहेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]